ईसाई धर्मकाे महान पर्व ख्रिष्टमस डे का अवसरमा बाँकेकाे काेहलपुरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । बाँके इसाई समाजद्वारा अानन्द चर्च काेहलपुरमा अायाेजना गरिएकाे शुभकामना अादान प्रदान कार्यक्रममा बाेल्दै काेहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारि चाैधरीले सबै धर्म र संस्कृतिकाे सम्मान गर्नुपर्नेमा जाेड दिईन । संविधानले नै सबै समुदाय र धर्मकाे स्वतन्त्रता सुनिश्चित गरेकाले स्थानिय सरकार सबै वर्ग र समुदायकाे भावनालाई कदर गर्न सधै तयार रहेकाे चाैैधरीले स्पष्ट पारिन ।
कार्यक्रमका प्रमुख अतिथि तथा अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्च बाँकेका संयाेजक महन्त चन्दननाथ योगीले सामाजिक सद्भाव कायम राख्दै सबै धर्म र समुदायले अाफ्ना गतिविधिहरू संचालन गर्नुपर्नेमा जाेड दिए । वागेश्वरी मन्दिर नेपालगंजका मुल महन्त समेत रहेका याेगीले सम्यमता र लचकताले नै ब्यक्तिलाई महान बनाउने तर्क गर्दै सामाजिक धर्म निर्वाहकालागि सबैले अाफ्नाे स्थानबाट याेगदान गर्नुपर्ने बताए बताए ।
मञ्चका उपाध्यक्ष एवं मुस्लिम समुदायका गुरु मौलाना अब्दुल जब्बार मन्जरीले इस्लाम समुदायको ग्रन्थ कुरानमा पनि इसाई समुदायको बाइबलमा रहेका धेरै कुरा समावेश गरिएकाे उल्लेख गरे। सबै धर्म ग्रन्थले अहिशा र प्रेमलाई प्राथमिकता दिएकाे जिकिर गर्दै माैलानाले भने, “जुन समाजमा आपसी मेलमिलाप र शान्ति हुदैन त्यहाँ दिगो विकास हुन सक्दैन ।”
शुभकामना अादान प्रदान कार्यक्रममा बोल्दै बाँके इसाई समाजका सचिव तथा ग्रेस साइन चर्च नेपालगंजका पास्टर शेर बहादुर बोहराले इसाई समुदायलाई मृत्यु पछि संस्कारकालागि समाधी स्थलको अति आवाश्यकता पर्ने भएकाले त्यसतर्फ सम्बद्ध सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताए । उनले नेपाली ख्रिष्टीयन समुदायको उत्थान र बिकासकालागी ख्रिष्टीयन धार्मिक आयोग गठन गर्नुपर्ने माग समेत गरे ।
कार्यक्रममा ईसाई समुदाय प्रदेश नम्बर ५ र ६ का वरिष्ठ पास्टर, अगुवा कर्णेलियस तामाङ्ग, बाँके इसाई समाजका उपाध्यक्ष एवं अगुवा डक्ट प्रसाद धिताल, कोहलपुर एरियाका पास्टर नन्दलाल घर्ति लगायतले ख्रिष्टमस डे, पर्वको शुभकामना ब्यक्त गरेका थिए।
बाँके इसाई समाजका अध्यक्ष धन बहादुर पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाभर रहेका विभिन्न चर्चका पास्टर, अगुवा, समाजसेवी, बुद्धिजिवी वर्ग लगायतको उपस्थिती रहेको थियो ।
२६ मंसिर २०७५, बुधबार १२:२७ प्रकाशित