प्युठानको झिमरुक गाउँपालिकाको भवन निमार्णको केन्द्र र स्थान निर्वाचनद्धारा भ्यागुतेमा टुङ्गिएको छ । लामो समयदेखी केन्द्र कहाँ राख्ने भन्ने छलफल र बहस चलेपनि टुङ्गगो लाग्न सकेको थिएन । त्यसैका लागि चलेको यस गाउँपालिकामा शनिवार विशेष गाउँसभाले मतदानबाट स्थान र केन्द्र दुई तिहाई बहुमतले पारित गरेको हो । गाउपालिकाको भवन निर्माण केन्द्र भ्यागुतेलाई टुङ्गाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको केन्द्र भ्यागुते र पिडाल्नेमा राख्ने भनिएपछि चुनाव गरिएको थियो । गाउँसभाका ४२ जना सदस्य मध्ये भ्यागुतेको पक्षमा २८ मत, पिडाल्नेको पक्षमा ४ मत र तथष्टमा ९ मत परेको गाउँपालिकाका प्राविधिक बासुदेब गिरीले जानकारी दिए ।
झिमरुक गाउँपालिका-४ भ्यागुते भन्ने स्थानमा नेपाल सरकारको डिजाईन अनुसार भवन बन्ने प्राविधिक गिरीले बताए । उक्त स्थानमा भवन निमार्णका लागि जग्गाको स्वीकृत समेत भएको छ । यस क्षेत्रका विभिन्न व्यक्तिहरुले ९ रोपनी ८ आना जग्गा प्रदान गरेका छन् । भवन निमार्ण हुने चर्चा चलिसकेपछि प्राविधिक समुहले उक्त स्थानलाई उपयुक्त मानेको समेत गिरीले बताए । हाल गाउँपालिकाको काम झिमरुक गाउँपालिका-५ मच्छीबाट सञ्चालन भईरहेको छ ।
यसैविच झिमरुक गाउँपालिका-३ को वडा केन्द्र र जग्गाको छनोटका लागि शनिवार बसेको सभामा प्रस्तुत गरिएको थियो । सभाले उक्त प्रस्तावलाई अस्विकार गरेको छ । केन्द्र र जग्गाको विषयमा २६ सदस्य मात्रै पक्षमा भएपछि बहुमत नपुगेको भन्दै प्रस्ताव रोकीएको गाउँपालिकाले जनाएको छ ।
२२ मंसिर २०७५, शनिबार १९:४६ प्रकाशित