नेपालगञ्जमा वजार सडक साँघुरीएपछि विस्तारकालागि आवाज उठेको छ । नेपालगञ्जको पुरानो र मुख्य बजार घरवारी टोल साँघुरो भएपछि विस्तारको आह्वानसहित बिहिबार सडक विस्तार अभियान थालीएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा न. २ वडा समितिको कार्यालयको अगुवाईमा सामुदायिक प्रहरी, युवा क्लव, स्थानीय उद्योगी व्यवसायी लगायतको सहकार्यमा बिहिबार विहान धम्वोझी चौकबाट घरवारी टोल हुँदै त्रिवेडीमोडसम्म सडक विस्तारको नारासहित र्याली प्रदर्शन गरियो । एशियाली विकास वैंक (एडीवी) को सहयोगमा नगरका अधिकांस सडक निर्माण र विस्तार भइरहेका बेला मुख्य बजारको सडक साँधुरो र जिर्ण रहेपछि अविलम्व विस्तार गर्न पहलकदमी लिइएको हो । एडीवीको सहयोगमा उपमहानगरपालिकामार्फत कालिकाले निर्माण गर्ने प्रक्रिया अघि बढेपनि विस्तारका लागि अधिकांस घर पसलको संरचना भत्काउनु पर्ने आवश्यक्ता छ ।
हाल कायम ७-८ मिटर सडकलाई १० मिटर बनाउनुपर्ने पर्ने प्रस्ताव समेत गरिएको छ । सहमतीमै सडक किनारका संरचना भत्काइएपछि चालु आर्थिक वर्ष भित्रै घरवारी टोल सडक बन्ने उपमहानगरपालिकाले जनाएको छ । नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रदेश सभा सदस्य सुरेन्द्र हमाल, वडा अध्यक्ष सुनिल सिंह हमाल, नेपालगञ्ज उद्योग वाणीज्य संघका अधयक्ष नन्दलाल वैश्य लगायतको सहभागितामा र्याली प्रदर्शन गरिएको हो । सडक विस्तार, समृद्धिको आधार, फुटेर हैन, जुटेर विकास गरौं, भन्ने प्लेकार्डसहित सहभागीले सडक विस्तारका पक्षमा नारा पनि लगाएका थिए । प्रदर्शन पश्चात आयोजित सभामा नगर प्रमुख डा. राणाले विकास र निकासका लागि सामुहिक हातेमालोको आवश्यक्तामा जोड दिए । उपप्रमुख थापा मगर, सांसद हमाल, संघका अध्यक्ष वैश्यले पनि सडक विस्तारमा कोही पनि बाधक हुन हुने भन्दै सबैको सहयोग रहने विश्वास व्यक्त गरे । यस अघि सदरलाइन विस्तारमा पनि दवाव बढेपछि संरचना स्वतस्फुर्त भत्काइँदै विकास बढाइएको थियो ।
१३ मंसिर २०७५, बिहीबार १८:५५ प्रकाशित