१५ बैशाख २०८१, शनिबार
राप्तीसोनारी गाँउपालिकाले मुख्यमन्त्रीलाई बुझायो ज्ञापन-पत्र
  • काँचुली खबर

बाँकेको राप्तीसोनारी गाउँपालिकाले ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई विभिन्न माग सहितको ज्ञापन-पत्र बुझाएको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारु सहितको टोलीले प्रदेश राजधानी बुटवल पुगेरै बुधबार मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
गाउँपालिकाले प्राविधिक शैक्षिक संस्था स्थापना, बिद्युत विस्तार, अस्पताल निर्माण, राप्ती नदीमा दुबैतर्फ तटबन्धन, बैजापुरदेखी बिनौना फत्तेपुर हुदै नेपालगन्ज जोड्ने सिधनिया पुलसम्म बाटो कालोपत्रे, सिक्टा सिचाईदेखी भगवतीपुर, कुम्भर सन्तपुर हुदै अलिनगर निस्कने
रिङरोड कालोपत्रे, राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ भम्कामा झोलुंगे पुल निर्माण लगायतका योजनाहरु माग गर्दै ज्ञापन पत्र बुझाईएको गाँउपालिका अध्यक्ष थारुले बताए ।
यस्तै सम्शेरगन्ज पार्कलाई प्रदेशकै स्मार्ट पार्कको रुपमा विकास गर्नुपर्ने, भुवर भवानी मन्दिर निर्माण, माथेवासदेखी मदुवा हुदै कम्दी जोड्ने बाटो निर्माण र राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा कजवे निर्माण गरिदिन गाउँपालिकाले प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।
‘देशकै गौरव इतिहास बोकेको गाउँपालिका मध्येकै राप्तीसोनारी गाउँपालिका सुगम जिल्लाको दुर्गम ठाउँ भनि चिनिन्छ, जुन भौगोलिक क्षेत्रफलका हिसाबले नेपालको चौथो र जनसंख्याको हिसाबले नेपालकै ठुलो गाउँपालिका हो,’ ज्ञापन पत्रमा भनिएको छ ‘बाँके जिल्लामा ८ वटा स्थानीय तह रहेतापनि जिल्लाको आधा भन्दा बढी भुभाग यस गाउँपालिकाले ओगटेको छ, तसर्थ भौगोलिक विकटताको कारण यहाँका बाटाघाटा, पुल पुलेसा तथा भौतिक पुर्वाधार विकास निकै ओझेलमा परेका छन् ।’
गाउँपालिकाको शैक्षिक, सामाजिक, भौतिक आर्थिक विकासकालागि मुख्यमन्त्रीको पहल आवश्यक रहेको र आवश्यक सम्बोधन हुनेमा आफुहरु आशावादी रहेको गाँउपालिका उपाध्यक्ष धनिकुमारी खत्रीले बताईन ।

  • १० आश्विन २०७५, बुधबार २१:३७ प्रकाशित
  • Nabintech