५ जेष्ठ २०८१, शनिबार
दरपिठ बिनाको ट्रकमा खयरको अबैध गोलिया भएको पुष्टि
  • काँचुली खबर

डिभिजन बन कार्यालय बाँकेले मंगलबार बेलुका बागेश्वरी कत्था उद्योग प्राली गनापुर परिसरबाट पक्राउ गरेको ना ३ ख २७५० नम्बरको ट्रकमा खयरको अबैध गोलिया रहेको पुष्टि भएको छ । स्थानियले टाचा नलगाएको खयरको अबैध गोलिया रहेको आशंका गरी बन कार्यालयलाई खबर गरे पछि उक्त ट्रक बन कार्यालयको टोलीले पक्राउ गरेको थियो ।
बिहिबार दिउँसो जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, बन पैदावर ब्यबसायी संघका प्रतिनिधि, सम्बन्धित सब डिभिजनका रेन्जर र रानी सामुदायिक बनका अध्यक्षको रोहबरमा डिभिजन बन कार्यालय बाँकेमा उक्त ट्रकको सिल खोली काठ नापजाँच गर्दा ८४ दशमलव ४८ क्युफुट खयरको काठ अबैध भेटिएको हो ।
‘आज सबै सरोकारवालाहरुको रोहबरमा खयरको काठ नापजाच गर्दा बिना टाँचाको ८० थान गोलियाको ८४ दशमलव ४८ क्युफुट खयर अबैध भेटियो’ अनुसन्धान अधिकृत नारायण पार्धेले भने । ट्रकमा अबैध काठ रहेको पुष्टि भएलगत्तै रानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बुद्ध थारुलाई नियन्त्रणमा लिईएको र बयान लिने तयारी भईरहेको अनुसन्धान अधिकृत पार्धेले जानकारी दिए ।
‘सम्बन्धित उपभोक्ता समुहका अन्य पदाधिकारी, टेण्डर परेको सम्बन्धित सप्लायर्स र ट्रकवाला साहुलाई पत्र काटी कानुन अनुसार कारबाहीमा लैजान्छौ’ उनले भने । अनुसन्धानको क्रममा कोही आशंकामा रहेको कोही कसैलाई उम्कन नदिने पार्धेले दाबी गरे ।
पार्धेका आनुसार डिभिजन बन कार्यालय बाँकेले दिएको छोडपुर्जीमा ४ सय १६ थान खयरको गोलियामा ४ सय ७१ दशमलव ८५ क्युफुट देखिएकोमा ट्रक छानविन गर्दा टाचा लगाएको गोलिया ३ सय ३० थान र टाचा नलगाएको अबैध गोलिया ८० थान भेटिएको थियो ।
‘घाटगद्दीमा रहेको ४९ थान गोलिया र बिहिबार गणना गरिएको ३ सय ३० थान गोलियाबाट के कति क्युफुट निस्किन्छ त्यस पछि मात्र बास्तबिकता थाहा हुन्छ’ अनुसन्धान अधिकृत पार्धेले भने । डिभिजन बन कार्यालयले दिएको छोडपुर्जीमा बिना दरपीट रानी सामुदायिक बन उपभोक्ता समुह कोहलपुरबाट उक्त खयरको गोलिया बोकेको ट्रक नेपालगन्ज पुगेको थियो ।

प्रहरीको नियतमाथी प्रश्न ?

यसअघि अबैध गोलिया रहेको सूचनाका आधारमा खयरको काठ सहित ट्रकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले बिना चेकजाँच ट्रक छाडिदिएको थियो । अबैध गोलिया रहेको बलियो सूचनाकै आधारमा ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले बिना कुनै कारबाही छाडिदिनु रहश्यको विषय बनेको छ ।
त्यस विषयमा बुझ्दा मंगलबार ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेश बहादुर सिंहले सब डिभिजन वन कार्यालय कोहलपुरका रेन्जर दिप बहादुर शाहीले ट्रक बुझेर लिएको बताएका थिए । सिंहले ट्रकमा लोड गरिएको खयरको गोलियामा टाचा लगाउन बिर्सिएकाले टाचा लगाउने भन्दै रेन्जर शाहीले ट्रक झिकाएको बताएका थिए ।
त्यस विषयमा बुझ्दा सब डिभिजन वन कार्यालय कोहलपुरका रेन्जर शाहीले आफुले प्रहरीबाट कुनै ट्रक नझिकाएको र त्यसको जिम्मा समेत नलिएको बताए । प्रहरीले आफुलाई फोन गरेको र कानुन अनुसार प्रक्रिया अगाडी बढाउन सल्लाह दिएको रेन्जर शाहीले दाबी गरे ।
यद्यपी ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सिंहले आफु कोहलपुरमा नरहेको भन्दै विषयलाई टार्न खोजेका थिए । ईलाका प्रहरी कार्यालय कोहलपुरले छाडेको ट्रक डिभिजन बन कार्यालयले नियन्त्रणमा लिनु र त्यसमा अबैध खयरको गोलिया भेटिनुले कोहलपुर प्रहरीमाथी प्रश्नचिन्ह खडा गरिदिएको छ ।

  • २८ भाद्र २०७५, बिहीबार २२:४० प्रकाशित
  • Nabintech