५ जेष्ठ २०८१, शनिबार
प्रकाण्डलाई दाङ्गबाट काठमाण्डौँ लगियो
  • काँचुली खबर

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई बिहीबार दाङबाट काठमाडौं लगिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले ४८ घण्टाभित्र पेश गर्न आदेश दिएपछि आज बिहान हवाइजहाज मार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माले बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा तुल्सीपुरमा भएको बम बिस्फोट मुद्दामा अनुसन्धान गर्न बिश्वकर्मालाई दाङ देउखुरी जिल्ला अदालतले आइतबार आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद नसकिदै सर्वोच्चले आदेश गरेपछि काठमाडौं पठाउनुपरेको शर्माले जानकारी दिए । दाङको मुद्दामा अनुसन्धान जारी नै रहने उनले बताए । विश्वकर्मालाई शुक्रबार भोजपुरबाट दाङ ल्याइएको थियो । निर्वाचनका क्रममा गतवर्ष मंसिर १२ गते तुल्सीपुरमा बम बिस्फोट हुँदा म्यादी प्रहरी तुलसीपुर-१२ क्वाङीका २३ वर्षीय विनोद चौधरीको मृत्यु भएको थियो । अनुसन्धानका क्रममा विश्वकर्माको डायरीमा दाङमा बम बिस्फोटबारे लेखिएको भेटिएपछि उक्त घटनामा अनुसन्धान गर्न दाङ ल्याइएको थियो । तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने  कांग्रेसको चुनावी सभालाई लक्षित गरी बम विष्फोट भएको थियो । बिस्फोटबाट म्यादी प्रहरीसहित नौ जना घाईते भएका थिए ।

  • २८ भाद्र २०७५, बिहीबार १५:०६ प्रकाशित
  • Nabintech