५ जेष्ठ २०८१, शनिबार
तरुण दलका नगर प्रमुखको गोली हानी हत्या
  • काँचुली खबर

तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुनको हत्या भएको छ । आइतबार बेलुकी पूर्वी रोल्पाको सुलीचौर बजारभित्रै उनी माथि गोली प्रहार भएको हो । गोली लागेर मृत्यु भएका रोहित केही महिनाअघि मात्रै तरुण दल रोल्पा नगरको अध्यक्षमा चयन भएका थिए। सुलीचौरस्थित इलाका प्रहरी कार्यालय नजिकै रहेको तथा भर्खरै संचालनमा ल्याइएको एक स्थानीय रेष्टुरेन्ट भित्रै उनी माथि गोली प्रहार भएको हो। स्थानीयका अनुसार घटना दिउँसो ४ बजे तिरको हो।

घटनापछि हतियारसहित रोल्पा नगरपालिका-१० का देवबहादुर घर्तीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए। घटनापछि फरार रहेका अन्य केही युवाको खोजी थालिएको प्रहरीले जनाएको छ। चिया पिउँदै कुराकानी गर्न भनी बोलाइएपछि मृतक रोहित त्यहाँ पुगेका थिए। रोल्पा नगरका सदस्य तथा नेविसंघका नेता शेरबहादुर थापाले आफ्ना कार्यकर्तालाई गोली हानेर हत्या गर्दा समेत राज्यले सुइँको नपाउनु दुखद भएको प्रतिक्रिया दिएका छन्।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार एउटै टेबुलमै बसेका बेला विवाद उत्पन्न हुँदा मृतक रोहितका साथी देवबहादुरले तीन गोली चलाएका थिए। एउटा गोली रोहितको मुटुमै लागेको थियो। ‘गोली लागेर रोहितको घटनास्थलमै मृत्यु भएको हो,’ प्रत्यक्षदर्शीले भने।

घटनापछि मृतक रोहितको शव सुलिचौरमै रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो। स्वास्थ्य केन्द्र प्रमुख डा. प्रकृति भट्टराईले अत्यधिक रक्तश्राव र मुटुमै गोली लागेकाले उनको मृत्यु भएको बताइन्। उक्त केन्द्रमै मृतकको पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ।

 

स्रोत : कान्तीपुर समाचार

  • २४ भाद्र २०७५, आईतवार २०:१२ प्रकाशित
  • Nabintech