२८ बैशाख २०८१, शुक्रबार
बाँके युनेस्को क्लबको २९ औं साधारणसभा सम्पन्न
  • काँचुली खबर

विभिन्न कार्यक्रमका साथ बाँके युनेस्को क्लबको २९ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभाको उदघाटन गर्दै शिक्षा मन्त्रालय अन्तर्गत रहेको युनेस्कोका निमित्त राष्ट्रिय आयोगका सदस्य हरिवंश किरातले विगत ३ दशकदेखि बाँके युनेस्को क्लबले बाँके लगायत यस क्षेत्रका विभिन्न जिल्लामा पुर्याएको योगदान अतिनै महत्वपूर्ण रहेको बताए ।

उनले क्लबले पिछिडिएका तथा विपन्न समुदायको शिक्षा, स्वास्थ्य र जिविकोपार्जन जस्ता अहम विषयमा अतिनै उल्लेखनीय काम गरेको बताए । देशभरीकै युनेस्को क्लबहरुमध्ये बाँके युनेस्को क्लब सबैभन्दा उत्कृष्ट रहेको जनाउँदै कार्यक्रमका प्रमुख अतिथि किरातले सामाजको उत्थानका लागि क्लबले गरेका कार्यक्रम निकै फलदायी रहेको बताए ।

क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले विगतमा गरेका कामहरुको स्मरण गर्दै अझै पनि धेरै काम गर्ने आफ्नो र संस्थाको चाहना भएको जनाउँदै दातृ निकाय र समुदायको सहयोगको अपेक्षा गरे । उनले क्लबले सधैं पिछिडिएका तथा विपन्न समुदायका लागि काम गरेको जिकिर समेत सो अवसरमा गरे ।

सो अवसरमा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका परिवार नियोजन अधिकृत बसन्त गैरेले क्लबले महिला तथा बालबालिकाको स्वास्थ्यका लागि विभिन्न कार्यक्रम चलाएर उत्कृष्ट काम गरेको बताए ।

सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक दिपेन्द्र सिह ठकुरीले बाँकेमा सयौंको संख्यामा गैर सरकारी संस्थाहरु रहेपनि बाँके युनेस्को क्लबले छुट्टै पहिचान बनाउन सफल भएको बताए । उनले क्लबले पिछिडिएका समुदायका लागि बिशेष रुपमा कार्यक्रमहरु गर्दै आएको उल्लेख गरे ।

सोही अवसरमा बोल्दै प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक उपेन्द्र भण्डारीले शिक्षाको क्षेत्रमा क्लबले गरेको योगदान अतिनै सराहनीय रहेको जनाउँदै अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

सो अवसरमा क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, जिल्ला युवा क्लब संजालका अध्यक्ष आशिष बर्मा, गेरुवा ग्रामिण संस्थाका अध्यक्ष कृष्णजंग शाह, समर्पण नेपालका चन्द्र प्रकाश तिमिल्सेना, बालक्लब संजालका साहिल अन्सारी र वडा बाल संरक्षण समितिका संयोजक रामु चिडिमार लगायतले क्लबले हालसम्म गरेका कामहरुको चर्चा गर्दै जिल्लाको हरेक क्षेत्रमा उल्लेखनीय कार्य गरेको जनाएका थिए ।

साधारणसभामा क्लबका महासचिव मिना तुलाधरले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने उपाध्यक्ष पन्चम गुरुंगले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

सोही अवसरमा बर्षभरी विभिन्न परियोजनामा संलग्न रही उत्कृष्ट काम गर्ने ३ जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषित गरेर कदर पत्र वितरण गरिएको थियो । यसरी सर्वोत्कृष्ट कर्मचारीको अवार्ड पाउनेहरुमा सहयात्रा परियोजनाका कार्यक्रम संयोजक आशिष बर्मा, क्लबका लेखा अधिकृत सन्जय चौधरी र इमरजेन्सी परियोजनामा काम गरेकी शान्ति चौधरी रहेका छन् ।

हालै सम्पन्न भएका विभिन्न परियोजनाहरुमा काम गरेर परियोजनालाई सफलतापूर्वक सम्पन्न गराउने अन्य विभिन्न कर्मचारीहरुलाई पनि सो अवसरमा कदरपत्र वितरण गरिएको थियो । साधारणसभाको बन्द शत्रले बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदनलाई पारित गर्दै अन्य विभिन्न महत्वपूर्ण निर्णयहरु समेत गरेको छ ।

  • २३ भाद्र २०७५, शनिबार १९:३९ प्रकाशित
  • Nabintech