३ जेष्ठ २०८१, बिहीबार
मन्त्रीले अस्पतालसाग मागे उपचार खर्च विवरण
  • काँचुली खबर

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पतालमै बन्धक बनाइएका सुरज विकको उपचार खर्चको विवरण माग गरेका छन् ।
मन्त्री बरालले अस्पताल सञ्चालनको लागि दर्ता अनुमति र अहिलेसम्मको काम कारबाहीको विस्तृत विवरणसहित मन्त्रालयमा हाजिर हुन जेनस अस्पताललाई निर्देशन दिएका छन् ।
‘दर्ता अनुमति, अहिलेसम्मको काम कारबाही, र अस्पतालले १० प्रतिशत बेडको निशुल्क उपचार गरेको हुनुपर्ने प्रावधान छ, अहिलेसम्म के–के भएको हो, सबै विवरणसहित मन्त्रालय बोलाएको छु’ मन्त्री बरालले भने । बराल भन्छन् ‘प्राबधान अनुसार उपचार भएको हो की होइन, बिरामीलाई उपचारको नाममा नौ महिनासम्म किन बन्धक बनाइयो, मेरो चासो त्यसमा छ ।’
मोटरसाइकल दुर्घटनामा घाइते भएका नवलपरासी भर्तापुर-१ का सुरज विकलाई बुटवलको जेनस अस्पतालले उपचार खर्च तिर्न नसकेपछि बन्धक बनाएर राखेको थियो । उनले उपचार खर्च तिर्ने प्रतिवद्धता जनाएपछि केही दिनअघि घर फर्किन पाएका थिए ।
मन्त्री बरालले युवकलाई अस्पतालबाट उद्दार गर्न रकम तिर्ने सहमति गरेकोमा पनि असन्तुष्टि जनाएका छन् । ‘उद्दार त भयो तर निःशुल्क बनाउनुपर्ने उपचारलाई पैसा तिर्ने सहमति गरिएछ, सहमति पत्र मन्त्रालय मगाएको छु, यो राम्रो भएन’ उनले थपे ।
अस्पतालले गर्ने उपचारको बारेमा जिल्ला जनस्वास्थ्यमा पठाउनुपर्ने प्रावधान भए पनि जेनसले पठाएको वा नपठाएको बारे पनि जानकारी गराउन मन्त्री बरालले जिल्ला जनस्वास्थ्य प्रमुखलाई पनि मन्त्रालयमा बोलाएका छन् ।
बुटवलको अस्पताललाइनमा रहेको जेनस २४ बेडको अस्पताल हो ।

 

स्रोत : अनलाईनखबर

  • २१ भाद्र २०७५, बिहीबार १८:४१ प्रकाशित
  • Nabintech