७ जेष्ठ २०८१, सोमबार
वडा बालसंरक्षण समिति पुनर्गठन, बाल राहात कोषलाई २५ हजार सहयोग
  • काँचुली खबर

परियोजना सकिएपनि कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष हमालको प्रतिवद्धता

बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनुका साथै बाल संरक्षणका लागि नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन भैरहेको सहयात्रा परियोजना सकिएपछि पनि सो परियोजनाले गरिरहेको सबै कार्यक्रमलाई निरन्तरता दिने वडा नम्बर २ ले जनाएको छ ।

बाल संरक्षण र शिक्षाका लागि सहयात्रा परियोजनाले हालसम्म वडा नम्बर २ का बिद्यालय र समुदायस्तरमा गरेका सबै क्रियाक्लाप निकै सराहनीय तथा उपलब्धीमूलक रहेको ठहर गर्दै ती सबै क्रियाक्लापलाई निरन्तरता दिइने वडा नम्बर २ का वडा अध्यक्ष सुनिल सिंह हमालले बताए ।

बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालयसम्म पुरयाउनुका साथै टिकाउन तथा शिक्षालाई गुणस्तर बनाउन र बाल संरक्षणका लागि बालमैत्री शासन लगायतका विभिन्न क्रियाक्लाप सहयात्रा परियोजनाले गरिरहेकोमा परियोजना सम्पन्न भएपनि ती सबै कामलाई वडा कार्यालयले निरन्तरता दिने उनले बताए ।

वडा नम्बर २ लाई बालमैत्री वडा बनाउने अभियान अन्तर्गत घरबारीटोलस्थित आधारभूत बिद्यालयमा विहिबार बसेको बैठकलाई सम्बोधन गर्दै वडा अध्यक्ष हमालले सहयात्रा परियोजना नरहेपनि परियोजनाले अघि सारेका सबै कामले निरन्तरता पाइरहने प्रतिवद्धता जनाए ।

उनले आफ्नो वडालाई बालमैत्री बनाउने अभियान अन्तर्गत हालसम्म वडा बालमैत्री स्थानीय शासन समिति गठन गरिसक्नुका साथै बाल राहात कोष पनि स्थापना गरिसकेको बताए ।

सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले नेपालगन्ज उपमहानगरपालिकाका ५ वटा शहरी गरिब बस्तीमा सहयात्रा परियोजना सञ्चालन गरिरहेकोमा आगामी डिसेम्बरबाट सो परियोजना समाप्त हुँदैछ ।

वडा बाल संरक्षण समिति पुनर्गठन

बालमैत्री अभियानलाई तिव्र पार्ने उदेश्यले सो बैठकले वडा बालसंरक्षण समितिलाई जगदिश चन्द्र बाल्मिकीको संयोजकत्वमा पुनर्गठन गरेको छ । पुनर्गठन गरिएको ९ सदस्यीय समितिका सदस्यहरुमा वडा सदस्य राम कुमार वैश्य, गिता राना, नुरजहाँ राई, आरती परियार, ललिता उपाध्याय, गिता गौतम, विमला तिवारी र निलम ज्ञवाली रहेका छन् ।

समितिमा आमन्त्रित सदस्यहरु पछि थप गरिने तथा सो क्रममा सबै क्षेत्रलाई समेटिने संयोजक बाल्मिकीले बताए ।

पुनर्गठन गरिएको समितिले अब तिव्र गतिमा बाल संरक्षणका लागि काम गर्ने बिश्वास ब्यक्त गर्दै समितिलाई सबै प्रकारको सहयोग वडा कार्यालयले उपलब्ध गराउने वडा अध्यक्ष हमालले बताए ।

बाल राहात कोषमा २५ हजार सहयोग

जोखिममा परेका बालबालिकालाई आपातकालिन सहयोग गर्ने उदेश्यले वडामा स्थापना गरिएको बाल राहात कोषका लागि बाँके युनेस्को क्लबले २५ हजार रुपैयाँ सहयोग गरेको छ । सोही कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान र सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत विरेन्द्र थापाले संयुक्त रुपमा २५ हजारको चेक वडा नम्बर २ का अध्यक्ष हमाललाई हस्तान्तरण गरे ।

चेक बुझ्दै अध्यक्ष हमालले वडाले पनि सो कोषमा केही रकम थप गरेर सञ्चालनमा ल्याउने बताए । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रनिलसिंह हमालले सहयात्रा परियोजना मार्फत विद्यालयमा धेरै सुधार भएको तथा बालबालिकाको शैक्षिक गुणस्तर बढ्नुका साथै संरक्षणमा पनि निकै ठुलो सहयोग भैरहेको बताए ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक ललिता उपाध्याय, वडा बाल संरक्षण समितिका संयोजक बाल्मिकी, सहयात्रा परियोजनाका कार्यक्रम संयोजक आशिष बर्मा, सामुदायीक परिचालन अधिकृत शंकर सिंह थारुले बाल संरक्षणका बारेमा आआफ्नो भनाई राखेका थिए ।

सो बैठकमा वडा सदस्यहरु, वडा सचिव, बाल क्लबका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक कार्यकर्ता, नागरिक समाजका अगुवा, अभिभावक, शिक्षक तथा बाँके युनेस्को क्लबका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

  • २१ भाद्र २०७५, बिहीबार १४:५९ प्रकाशित
  • Nabintech