५ जेष्ठ २०८१, शनिबार
काममा लापरवाही गरेको भन्दै प्राविधिक कर्मचारीहरु फिर्ता पठाईए
  • काँचुली खबर

बाँकेको राप्ती-सोनारी गाउँपालिकाले कार्यालयमा कार्यरत प्राविधिक कर्मचारीलाई जिल्ला समन्वय समितिमा फिर्ता पठाउने निर्णय गरेको छ । प्राविधिक कामका बिषयमा आम सेवाग्राहीबाट गुनासो आएको भन्दै राप्ती–सोनारी गाउँपालिका कार्यपालिकाको भदौं ३ गते बसेको बैठकले सम्पूर्ण प्राविधिक कर्मचारीलाई जिल्ला समन्वय समितिमा फिर्ता पठाउने निर्णय गरेको हो । राप्तीसोनारीमा ईञ्जिनियर शरद अधिकारी, असिस्टेन्ट सव ईञ्जिनियर दिपकध्वज शाही र सिमा क्षेत्र विकास कार्यक्रमका थप एकजना गरी तीन जना प्राविधिक कर्मचारी कार्यरत छन् ।

प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र खत्रीको असन्तुष्टीका बीच कार्यपालिका बैठकले प्राविधिक कर्मचारी फिर्ता पठाउने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत खत्रीले स्थायी कर्मचारीलाई फिर्ता नपठाउन आफुले सुझाव दिएको बताए । स्थायी प्राविधिक फिर्ता गरेको कार्यपालिकाले चारजना करारमा नियुक्त गरिएका प्राविधिकको समेत म्याद थप नगर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जनताको गुनासो थेगी नसक्नु भएपछि प्राविधिक कर्मचारीलाई जिल्ला समन्वय समितिमा फिर्ता पठाउने निर्णय गरेको बताए । ‘जनताको गुनासो थेग्न नै सकिएन’, प्रमुख थारुले भने, ‘काम गर्न समस्या भएपछि फिर्ता पठाउन बाध्य भएका हौं ।’ प्राविधिकहरु समयमा उपस्थित नहुँने, चकेजाँजमा लापरवाही गर्ने र गुणस्तरयुक्त काम गर्न नसकेको जनगुनासो आएको अध्यक्ष थारुको भनाई छ ।

जिल्ला समन्वय समिति बाँकेले स्थानीय तहमा कार्यरत कर्मचारीलाई फिर्ता पठाउने अधिकार स्थानीय तहलाई नभएको जनाएको छ । जिल्ला समन्वय समिति बाँकेका जिल्ला समन्वय अधिकारी हरी प्याकुरेलले स्थानीय तहमा कर्मचारी व्यवस्थापनकालागि गठित समिति नै निष्कृय भएको अवस्थामा स्थानीय तहले अब कर्मचारीलाई हाजिर नगराउने वा फिर्ता पठाउने अधिकार नराख्ने बताए ।
राप्ती-सोनारी गाउँपालिकाले प्राविधिक कर्मचारी फिर्ता पठाएको निर्णय गरेपछि जिल्ला समन्वय समितिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा जानकारी गराएको थियो । तर गाउँपालिकाका अध्यक्ष थारुले भने आफुहरुको निर्णय फिर्ता नगर्ने बताए ।

  • २० भाद्र २०७५, बुधबार १९:३८ प्रकाशित
  • Nabintech