२३ बैशाख २०८१, आईतवार
सुदूर र मध्यपश्चिमवासी गौरा पर्व मनाउँदै, प्रदेश ७ मा बिदा
  • काँचुली खबर

सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा पर्व मनाउँदै छन् । शिव–पार्वती तथा दुवोको पूजा गरेर मनाइने सो पर्वलाई दुर्वाष्टमी पर्व पनि भनिन्छ । यसअघि यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउने गरिए पनि यस वर्ष कृष्ण अष्टमीकै दिन मनाइँदै छ ।

यो वर्ष अगस्ति ऋषिको उदय अगाडि नै हुने भएकाले कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र बताए । ‘यस वर्ष अगस्ति ऋषिको उदय भदौ १९ गते मंगलबार नवमी तिथिका दिन बिहान ४ बजेर ६ मिनेटमा हुने भएकाले भाद्र शुक्ल अष्टमीका दिनमा गौरापर्व मनाउन मिल्दैन, यसैले भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्छ”, उनले बताए ।

मध्यरातमा कृष्णपक्षको अष्टमी तिथि रहेका दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ । गौरा एवं दुर्वाष्टमी पर्व भने सूर्योदयकालमा अष्टमी तिथि रहेका दिन मनाउनुपर्छ । सोमबार दिउँसो ३ बजेर ३१ मिनेटसम्म अष्टमी तिथि रहेको समितिले जनाएको छ ।

कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनुहुँदैन । सिंह राशिमा सूर्य भएका वेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने ‘मानसखण्ड’, ‘निर्णयसिन्धु’, ‘हेमाद्रि’लगायत ग्रन्थमा उल्लेख गरिएको छ । गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा गायक नन्दकृष्ण जोशीले जानकारी दिए ।

गौरापूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा छ । देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्न नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । यो पर्वका लागि भाद्र कृष्ण पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ । अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रूपमा बिरुडा नै बाँडिन्छ ।

यसरी दुई तीन–दिन पूजा गरिसकेपछि मंगल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । जुठो, सुतक परेका वे देवीलाई विसर्जन गर्न नहुने धार्मिक परम्परा पनि छ । देवीलाई विसर्जन गरेपछि मांगलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेष गरी नारीहरूले मनाउने गरेका छन् । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई अँध्यारी भनिन्छ । पहिलोपटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।

यो दिनमा सुदूरपश्चिमवासी देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन् । काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमवासी मनोरञ्जन गर्दछन् । यस पर्वको उपलक्ष्यमा प्रदेश नं ७ सरकारले आज प्रदेशभर बिदा दिएको छ ।

  • १८ भाद्र २०७५, सोमबार १६:०३ प्रकाशित
  • Nabintech