७ जेष्ठ २०८१, सोमबार
अपाङ्गता मैत्री विद्यालय भवनको उद्घाटन
  • काँचुली खबर

कोहलपुर नगरपालिका-८ पिपरीमा रहेको सरस्वती माविमा दुई कोठे अपाङ्ग मैत्री भवन निर्माण भएको छ । साविकको जिल्ला शिक्षा शाखाको रु. १६ लाख र विद्यालयको रु. १ लाख ३० हजार दुई सय गरी रु. १७ लाख ३० हजार दुई सयको लागतमा भवन निर्माण सम्पन्न भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीम बहादुर नेपालीले जानकारी गराए । अधिकांश स्थानमा सार्वजनिक भौतिक संरचना निर्माण गर्दा अपाङ्ग मैत्री संरचना बनाउने काममा ध्यान दिएको पाइदैन । तर सरस्वती मावि पिपरीमा नयाँ विद्यालय भवन निर्माण गर्दा अपाङ्गता भएका विद्यार्थीहरु पनि अध्ययन गर्न सहजै कक्षाकोठा सम्म ह्वीलचियरमा जान मिल्ने गरी संरचना बनाइएको छ ।

शुक्रबार कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले नयाँ भवनको उद्घाटन गर्दै सो विद्यालयसँग आफ्नो शिक्षक,अभिभावक र जनप्रतिनिधि सम्मको सम्बन्ध रहेको खुलाए । प्रमुख रावतले बि.स. २०२८ सालका तीनकोठे माटाको खरले छाएको भवन बनाएर पढाई शुरु गराएको बि.स.२०३० सालमा आफै शिक्षक बनेर पढाएको अनुभती सुनाए । नगर प्रमुख रावतले भने, ‘भौतिक संरचनाले मात्र विद्यालयको गुणस्तर मापन हुँदैन । भविश्यमा विद्यालयको प्रगति तथा स्तररोन्नतीका लागि विद्यालयले विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिमा विशेष ध्यान दिनु पर्छ ।’

रावतले विद्यालयका सबै शिक्षक कर्मचारीहरु आफ्नो कर्तव्य प्रति जिम्मेवार र इमानदार हुनु पर्ने सुझाव दिदै सरकारका धेरै आँखा भएकाले आफ्नो जिम्मेवारी र कर्तव्य प्रति इमानदार नहुनेहरुलाई स्थानीय सरकारले कारबाही गर्ने चेतावनी समेत दिए । साथै रावतले अब आफ्ना छोरा-छोरीहरुलाई विद्यालयमा नपढाउनेहरुलाई कारबाही गर्ने कानूनी व्यवस्था समेत गरेकाले सबैले छोरा–छोरी विद्यालय पठाउन सुझाव दिए ।

वडा नं. ८ का वडा अध्यक्ष रेशम बहादुर खत्रीले विद्यालयको भौतिक संरचना बन्नुको साथै शिक्षको गुणस्तरलाई समेत वृद्धि गर्न सबै लाग्नु पर्ने बताए । विद्यालयलाई कृषि विद्यालयको रुपमा विकास गर्ने र त्यसका लागि आवश्यक पर्ने जग्गाको समेत वडापालिकाले व्यवस्था गर्न सक्ने बताए । खत्रीले विद्यालयलाई १२ कक्षा सम्म पु¥याउने बताए ।

४६ वर्ष अघि स्थापना भएको विद्यालयमा स्थानीय सरकार बनेपश्चात शैक्षिक शत्र २०७५ देखि मात्र कक्षा ९ सम्मको पढाई शुरु भएको छ । स्थानीय तहको निर्वाचन र संवैधानिक रुपमा अधिकार प्राप्त स्थानीय सरकार बने पश्चात ग्रामीण स्तर सम्म विकासका कामहरु हुन थालेका र त्यसकै परिणाम स्वरुप दश वर्ष यता गत आर्थिक वर्षमा आधारभूत तहमा र चालु आर्थिक वर्षमा मावि तहमा एक-एक जना शिक्षकको दरबन्दी समेत प्राप्त भएकोको विद्यालय व्यवस्थापन समिति सदस्य एवं कोहलपुर नगरकार्यपालिका विधेयक समिति संयोजक समेत रहेका भीम नेपालीले बताए । उनले भने, ‘जनताको सरकार र त्यसले प्रत्यक्ष रुपमा जनताको पक्षमा काम गर्ने कुराको सबैलाई अनुभूती गराएकोे छ  ।’

पाँच सय भन्दा बढी विद्यार्थीहरु रहेको सो विद्यालयमा हाल ६ जना स्थायी, ३ जना राहत,२ जना निजीश्रोत र २ जना नगर सरकारको अनुदान गरी १३ जना शिक्षकहरुले अध्यापन गराइरहेका छन् । करिब नब्बे प्रतिशत छात्राहरुको संख्या रहेको विद्यायमा शैक्षिक गुणस्तरमा समेत प्रगति हुँदै आइरहेको विद्यालयका प्रअ वेग बहादुर थापाले जानकारी गराए । थापाले भने, ‘शिक्षकहरुको एक्लो प्रयासले मात्र गुणस्तरमा उल्लेख्य सुधार आउँदैन, त्यसका लागि विद्यार्थी, अभिभावक, यहाँका जनप्रतिनिधि लगायतको सहयोग र सुझावको आवश्यकता पर्दछ ।’

विद्यालयका पूर्व प्रअ जित बहादुर थापाले आफूले पन्ध्र वर्ष अध्यापन गराए जाँदा सधै यस विद्यालयको प्रगति चाहेको बताउँदै अहिले विद्यालयले भौतिक संरचनाका साथै गुणस्तरमा समेत सुधार गरेको देख्दा खुशी लागेको बताए । कार्यक्रममा अभिभावक हरिकला थापालाई रु १५ लाख नगद सहित दोसल्ला ओढाएर वर्ष अभिभावकको रुपमा सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र सिंह वली, नेपाली काँग्रेसका वडासभापति लगायतले विद्यालयको गुणस्तर सुधारमा लाग्न सल्लाह दिएका थिए ।

  • ८ भाद्र २०७५, शुक्रबार १८:५१ प्रकाशित
  • Nabintech