२५ जेठ, नेपालगन्ज । नेपालगन्जस्थित केयर सिटी अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु प्रकरणबारे छानबिन गर्न नेपाल मेडिकल काउन्सिलबाट आएको विज्ञ टोलीले तीन दिन लगाएर अध्ययन पूरा गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका-४ निवासी ३५ वर्षीया शीला श्रेष्ठको उपचारका क्रममा गत बिहीबार बिहान अस्पतालमै निधन भएपछि मृतकका आफन्तले चिकित्सकको लापरबाहीका ‘कारण’ मृत्यु भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका थिए । शीलाको मृत्युपछि केयर सिटी अस्पतालले पनि उपचारका सबै विधि प्रयोग गरिएको र छानबिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा अनुरोधसहितको निवेदन दिएको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार नेपाल मेडिकल काउन्सिललाई घटनाको छानबिन गर्न आग्रहसहित सिफारिस पठाएपछि काउन्सिलबाट व्यावसायिक आचरण तथा स्वास्थ्य समितिका संयोजक डा. अजय कुमार शाहको नेतृत्वमा आएको विज्ञ टोलीले बिरामीका आफन्त, अस्पताल प्रशासन, उपचारमा संलग्न चिकित्सकसहित सम्पूर्ण स्वास्थ्यकर्मीको टोली, फरेन्सिक चिकित्सक र सुरक्षा निकायका अधिकारीहरुसँग विभिन्न चरणमा छलफल गरेर अध्ययन पूरा गरेको हो ।
काठमाडौं फर्किनुअघि टोलीले सोमवार जिल्ला प्रशासन कार्यालयमा बिरामीका आफन्तलाई अध्ययनका विषयबारे जानकारी गराएको छ । यद्यपि घटनाको यथार्थ विवरणसहितको प्रतिवेदन तयार पार्न केही समय लाग्ने भएकाले कारण भने तत्काल सार्वजनिक गरिएको छैन । विज्ञ टोलीले अस्पतालको सीसी क्यामेरा समेत झिकाएर अध्ययन गरेको थियो ।

शीला स्कुटी चलाएर आफैं अस्पताल आए-नआएको, एनेस्थेसिया चिकित्सकविना अस्पतालमा शल्यक्रिया गर्नु अघि आए-नआएको लगायतका विषयलाई पनि टोलीले गम्भीर रुपमा अनुसन्धान गरेको छ ।
शल्यक्रिया गर्नुअघि बिरामीका आफन्तबाट लिनुपर्ने स्वीकृती भने अस्पतालले लिएको पाइएको स्रोतको भनाइ छ । यद्यपि शल्यक्रियाका विषयमा बिरामीलाई पर्याप्त काउन्सिलिङ नगराइएको देखिएको अध्ययन टोलीका एक सदस्यले बताए ।
डा. शाहको नेतृत्वमा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुली, प्रमुख कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी र भेरी अस्पतालका कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. पारस पाण्डेले घटनाकाे अध्ययन गरेका थिए । यस्तै, नेपालगन्जका वरिष्ठ प्लास्टिक सर्जन डा. विनोद कर्ण र दन्त चिकित्सक डा. प्रतीक श्रेष्ठ पनि टोलीमा सहभागी भएका थिए ।
टोलीमा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुलीका अनुसार पोस्टमार्टम प्रतिवेदन अझै प्राप्त नभएकाले मृत्युको वास्तविक कारणबारे निष्कर्षमा पुग्न केही समय लाग्नेछ । छानबिन प्रक्रिया पूरा भएकाले अब विस्तृत प्रतिवेदन तयार पारेर नेपाल मेडिकल काउन्सिलसमक्ष पेस गरिने डा. पराजुलीले जानकारी दिए ।
२५ जेष्ठ २०८३, सोमबार २०:१८ प्रकाशित