१५ चैत्र २०८०, बिहीबार
सिक्टाको गुणस्तर छानविन गर्न गाउँपालिकाको माग
  • काँचुली खबर

राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिचाई आयोजनाको गुणस्तर छानविन गर्न संघिय र प्रदेश सरकारसँग माग गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बुधबार बसेको गाउँ कार्यपालिका बैठकले राष्ट्रिय गौरवको यस आयोजनाको अवस्था नाजुक हुन पुगेको निस्कर्ष सहित गुणस्तर छानविन गर्नुपर्ने निर्णय गरेको हो ।
आयोजनाको पश्चिम मुल नहर यही साउन ७ गते ढकेरीस्थित चंगाई नाला नजिक भत्किएको विषयमा स्थानीय स्तरबाट उठिरहेको आवाजलाई संघिय र प्रदेश सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बैठकले जोडदार रुपले माग गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ अगैयामा आयोजनाको हेडवकर््स र वडा नम्बर २, ८ र ९ हुँदै पश्चिम मुल नहरको संरचना निर्माण भएको छ ।
राज्यको अर्वौ रुपैयाँ लगानी लागेको आयोजनाको पश्चिम मुल नहर पटक–पटक भत्किने गरेको र सोही नहरका कारण वडा नम्बर २, ८ र ९ का जनता असुरक्षित हुन पुगेकाले गुणस्तर छानविन गर्न माग गरिएको बैठकपछि गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । ‘सिक्टाको गुणस्तर छानविन गर्न बैठकबाट हामीले माग गरेका छौं,’ उनले भने ‘बैठकको निर्णय संघीय र प्रदेश सरकार समक्ष पठाउने, सिक्टा सिचाई आयोजना कार्याललाई बोद्धार्थको रुपमा जानकारी गराउने निर्णय भएको छ ।’ सिक्टाको गुणस्तरका विषयमा उठेको प्रश्नबारे संघीय सरकारले तत्काल अध्ययन गरी समस्या समाधानको पहल गर्नुपर्ने बैठकमा सहभागी कार्यपालिका सदस्यले माग गरेका थिए ।
बैठकको सुरुमा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर २ का वडाअध्यक्ष मदन ओली र वडा नम्बर ९ का अध्यक्ष महाबीर ओलीले सिक्टा सिचाई आयोजनाको काम तथा गुणस्तर र गाउँबस्तीमा निम्त्याएको जोखिमका विषयमा अवगत गराएका थिए ।
परिक्षणकै क्रममा पटक–पटक आयोजनाको मुल नहर भत्किन थालेपछि कामको गुणस्तरबारे चौतर्फी रुपमा प्रश्न उठिरहेको छ । नहर पहिलो पटक परिक्षण गर्ने क्रममा २०७३ असार १४ गते र दोस्रो पटक परिक्षण गर्दा यही साउन ७ गते ढकेरी नजिक भत्किएको थियो ।

  • २३ श्रावण २०७५, बुधबार २२:१० प्रकाशित
  • Nabintech