११ बैशाख २०८१, मंगलवार
कान्जीहाउस निर्माणका लागि छुट्याइएको २५ लाख फ्रिज
  • काँचुली खबर

नेपालगन्जमा नयाँ कान्जीहाउस निर्माणका लागि बिनियोजन गरिएको २५ लाख रुपैयाँ फ्रिज भएको छ । आर्थिक वर्ष ०७४|०७५ मा नेपालगन्ज उप-महानगरपालिकाले कान्जी हाउस निर्माणका लागि विनियोजन गरेको २५ लाख रुपैयाँ फ्रिज भएको हो ।
कान्जी हाउस निर्माणका लागि जग्गाको टुंगो नलागेपछि रकम फ्रिज भएको मेयर डा। धवल शमशेर राणाले बताए । जग्गा खोज्दै गर्दा आर्थिक वर्ष सकिएको भन्दै उनले चालू आर्थिक बर्षमा निर्माण सम्पन्न हुने दावी गरे ।
उनले छाडा पशुचौपाया धपाएर नियन्त्रण गर्न नसक्ने बताए । खुल्ला सीमानाका कारण भारतबाट नेपालगन्जमा पशुचौपाया भित्रिने गरेको बताउँदै उनले छाडा पशुचौपाया नियन्त्रण उपमहानगरपालिकाका लागि टाउको दुखाई भएको स्वीकारे । ‘छाडा पशुचौपाया नियन्त्रण हाम्रो ‘अधिन’ भन्दा बाहिर गइसकेको छ,’ मेयर राणाले स्वीकारे ।
छाडा चौपाया नियन्त्रणका लागि उपमहानगरपालिकाले जिल्ला समन्वय समितिसँग आग्रह गरेको छ । समन्वय समितिसँग साउन २१ गते छलफल गरिने मेयर राणाले जानकारी दिए । उनले भने, हामीले जति गरेपनि सकेनौँ समन्वय समितिले कुनै निकास निकाल्छ कि अपेक्षा छ ।’

नेपालगन्जस्थित फुल्टेक्रामा रहेको एकमात्र कान्जीहाउस बन्द भएको छ । २०१७ सालदेखि सञ्चालित कान्जीहाउसमा छाडा पशुचौपाया राख्नसक्ने अवस्था नभएपछि गत बुधबारबाट बन्द गरिएको निरीक्षण उपशाखा प्रमुख पवन कनोजियाले बताए । विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएका चौपायालाई लिन पशुधनी नआएपछि कान्जीहाउसमा राख्नुको कुनै अर्थ नभएकोले बन्द गरिएको कनोजियाले बताए । उनले छाडा पशुचौपाया नियन्त्रण गर्न अर्को ब्यवस्था नहुँदासम्म कान्जीहाउस बन्द रहने स्पष्ट पारे । एकसय चौपाया अट्ने क्षमता भएको ५८ वर्ष पुरानो कान्जीहाउसमा सडक र गल्लीमा डुल्ने छाडा चौपाया नियन्त्रणमा लिई कान्जीहाउसमा राख्ने गरिएको थियो ।

 

स्रोत : सदरलाईन

  • १८ श्रावण २०७५, शुक्रबार १९:१९ प्रकाशित
  • Nabintech