२६ बैशाख २०८१, बुधबार
बाँकेमा २ हजार ६ सय पशुपन्छीको बिमा
  • काँचुली खबर

बाँकेमा १२ लाखको हाराहारीमा पशुपन्छी भए पनि २ हजार ६ सय ७ को मात्र बिमा भएको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेले २ सय ५० किसानले पशुपन्छी बिमाको सुविधा लिएको जनाएको छ ।
पशु सेवा कार्यालय प्रमुख डा. बेदराज केसीले सरकारले पशुपन्छीको बिमाको रकम मन्त्रालयबाटै सिधै बिमा कम्पनीमा पठाइ दिने गरेका कारण बिमाको सेवा लिने किसान तथा दिने बिमा कम्पनीको यकिन तथ्यांक कार्यालयसँग नरहेको बताए । ‘सेवाग्राही अप्ठ्यारोमा परे भने मात्र सिफारिस लिन आउने गरेकाले यकिन तथ्यांक आउने गाह्रो भएको छ’ उनले भने, ‘कार्यालयमा आउने सेवाग्राहीसँग सोधपुछ गरेर विमित पशुपन्छीका बारेमा तथ्यांक खडा गर्ने गरेका छौं ।’
जिल्लामा दर्ता भएका ८ सय ३३ वटा पशुपन्छी फार्म भए पनि चालू आर्थिक वर्षको ६ महिनासम्ममा २ सय ५० किसानले आफ्ना पशुपन्छीको बिमा गराएका छन् । जबकी गत आर्थिक वर्षमा ३ सय ३१ कृषकले मात्र पशु बिमा गराएका थिए । आव २०७३|७४ मा २ लाख २० हजार ४ सय ५३ गाईभैँसी रहेकोमा १ सय ५४ जना कृषकले ४ सय १२ गाईभैंसीको मात्र बिमा गरेकोमा यो वर्ष २ सय ५ किसानले ४ सय २१ को बिमा गरेको कार्यालयले जनाएको छ ।
यो वर्षको ६ महिनामा ३५ जना किसानले २ सय ८२ भेडाबाख्राको बिमा गराएका छन् । गत वर्ष जिल्लामा १ सय ५७ जना कृषकले २ सय ८३ वटा भेडाबाख्राको बिमा गराएका थिए । यहाँ ३ लाख १० हजार २ सय ५९ बाख्रा छन् । गत वर्ष बाँकेमा कुखुरा र बंगुरको बिमा नै नभएको पाइए पनि यो वर्षमा भने ५ जना किसानको ४४ वटा बंगुर र ५ जना किसानले १ हजार ८ सय ६० वटा कुखुराको बिमा गराएका छन् ।
गत वर्ष २ करोड २० लाख ८० हजार रुपैयाँ बराबरको पशु बिमा गरिँदा यो वर्ष त्यसमा दोब्बर रकमको बिमा गरिएको पाइएको छ । यो वर्ष ४ करोड ८० लाख ७० हजार बराबरको पशुधनको बिमा गरिएको जिल्ला पशु सेवा कार्यालय बाँकेले जनाएको छ । ‘पशुपन्छीको संख्याको तुलनामा बिमा गराउनेको संख्या एकदमै कम छ’ कार्यालयका प्रमुख डा. केसीले भने, ‘बिमाका बारेमा जानकारी भए पनि कृषकले चासो राख्दैनन् ।’
सरकारले पशु बिमाका लागि विशेष सहुलियत दिएको छ । कूल विमित रकमको ७५ प्रतिशत सरकार र २५ प्रतिशत रकममात्र कृषकले बेहोर्ने प्रावधान छ ।

  • १५ श्रावण २०७५, मंगलवार २०:१२ प्रकाशित
  • Nabintech