११ बैशाख २०८१, मंगलवार
खाल्डोकै कारण १६ वर्षीय छोरा गुमाएपछि बाबुले पुरे सडकका ५ सय ५६ खाल्डा !
  • काँचुली खबर

छोराको कलिलै उमेरमा मृत्यु भएपछि एक बाबुले शोकको पीडालाई सेवामा लगाएका छन् । भारतको मुम्बईमा बस्दै आएका ती बाबु हुन्, दादाराओ बिलहोरे । उनको छोराको १६ वर्षकै उमेरमा मृत्यु भयो । छोराको सम्झनामा बाबुले सोही शहरका विभिन्न सडकमा रहेका ५ सय ५६ वटा खाल्डा पुरेर सेवाकर्म दर्शाएका हुन् ।

सन् २०१५ मा सडक दुर्घटनामा नै परेर उनका छोरा प्रकाशको ज्यान गएको थियो । सडकमा भएका खाल्डाखुल्डीका कारण मोटरसाइकल दुर्घटना हुँदा प्रकाशको मृत्यु भयो । खाल्डोमा परी मोटसाइकल चिप्लिएर दुर्घटना भएको थियो । सोही घटनाबाट प्रेरित भएर बाबु दादाओरेले यो खाल्डा पुर्ने अभियान थालेको बताइन्छ ।

दादाराओले आजीवन खाल्डा पुर्दै जाने बताएका छन् । देशैभरिका सडकमा भएका खाल्डा नपुरिएसम्म उनी यो कामलाई निरन्तरता दिन चाहन्छन् ।

आफ्नो छोराले जस्तै अरु कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उनको कामना छ । आइतबारसम्ममा उनले मुम्बईका विभिन्न सडकहरुमा भएका ५ सय ५६ खाल्डा पुरिसकेको जनाएका छन् ।

भारतको जनसंख्या धेरै भएको बताउँदै केवल एक लाख जनाले मात्रै सडकका एकएक खाल्डा पुर्न सुरु गर्ने हो भने देशैभरका सडकहरुमा एउटा पनि खाल्डो बाँकी नरहने उनको भनाइ छ । यो वर्ष मात्रै वर्षायाम सुरु भएसँगै मुम्बईमा मात्रै सडकमा रहेका खाल्डाका कारण ६ जनाले ज्यान गुमाइसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सडकहरु अस्तव्यस्त छोडिएको भन्दै केही दिनअघि मात्र महाराष्ट्र नवनिर्माण सेनाका कार्यकर्ताले प्रदर्शन समेत गरे । उनीहरुले सडकमा रहेका खाल्डा जतिसक्दो छिटो पुर्न माग गर्दै राज्य सरकारविरुद्ध सडकमै प्रदर्शन गरेका हुन् ।

  • १५ श्रावण २०७५, मंगलवार १६:५७ प्रकाशित
  • Nabintech