प्रहरीको विधि विज्ञान एकाइ नेपालगन्जमा जनशक्ती अभाव
  • काँचुली खबर

२० कात्तिक, नेपालगन्ज । जनशक्तिको अभावका कारण नेपालगन्जमा रहेको नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) मा समस्या देखिएको छ । सुरुवाती चरणदेखि प्रयोगशालाले दैनिक काम गर्नका लागि महत्त्वपूर्ण मानिने जनशक्ति, उपकरणजस्ता कुरामा समस्याको सामना गर्दै आइरहेको छ । जसले गर्दा कामलाई समेत प्रभावित गर्ने गरेको छ ।

स्थापनाको सुरुवाती चरणबाटै प्रयोगशालामा जनशक्ति र प्रविधिको अभाव थियो । तर त्यो हालसम्म पनि पूर्ति हुन सकेको छैन ।

प्रयोगशाला स्थापना भएयता यहाँ दुई हजार दुई सय ६७ घटनाका छ हजार सात सय ८२ नमुना परीक्षण गरिएको छ । परीक्षणमध्ये आर्थिक वर्ष २०७८-७९ मा पाँच सय दुई घटनाका एक हजार पाँच सय ५२ नमुना, आर्थिक वर्ष ०७९-०८० मा सात सय ९९ घटनाका दुई हजार चार सय ४० नमुना, आर्थिक वर्ष ०८०-०८१ मा सात सय ४७ घटनाका दुई हजार एक ८६ नमुना र आर्थिक वर्ष ०८१-०८२ मा दुई सय १९ घटनाका छ सय चार नमुना परीक्षण भएको नेपाल प्रहरी प्रदेश कार्यालय, विधि विज्ञान एकाइ, नेपालगन्जले जनाएको छ ।

२०७८ साल मङ्सिरदेखि प्रयोगशालामा फौजदारी अपराधसँग सम्बन्धित शङ्कास्पद खाना, पेय पदार्थ, बान्ता, र्याल, ‘स्टोम्याच वास’ आदीबाट विषादी परीक्षण र रगतबाट मादक पदार्थ तथा लागूपदार्थको परीक्षण हुने गरेको नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ, नेपालगन्जका प्रमुख यमलाल बस्नेतले जानकारी दिए ।

उनले त्यसबाहेक भिसेरा नमुनाबाट विषादी तथा अन्य रासायनिक परीक्षण, जैविक नमुनाको परीक्षण समेत हुने उल्लेख गर्दै अन्य अप्राकृतिक मृत्युसँग सम्बन्धित सम्पूर्ण भौतिक सबुद परीक्षण हुने बताए ।

जटिल घटनामा अदालतमा द्विविधा रहँदा अदालतलाई बकपत्रमार्फत स्पष्ट गरिने उल्लेख गर्दै लुम्बिनीबाहेक कर्णाली र सुदूरपश्चिमका घटना पनि परीक्षण गर्नुपर्ने भएकाले कामको चाप बढेको उनले बताए । तर जनशक्ति पर्याप्त नहुँदा कामहरू प्रभावित हुने गरेको बस्नेतले बताए ।

प्रदेशअनुसार लुम्बिनीमा एक हजार एक सय १२ घटनाका तीन हजार ८८ नमुना, कर्णालीमा चार सय ८७ घटनाका एक हजार तीन सय ५० नमुना र सुदूरपश्चिममा छ सय ६८ घटनाका दुई हजार तीन सय ४४ सहित कूल छ हजार सात सय ८२ नमुनाको परीक्षण सम्पन्न भएको छ ।

  • २० कार्तिक २०८१, मंगलवार १४:३३ प्रकाशित
  • Nabintech