बाँकेकी निर्मला कुर्मीलाई न्याय माग्दै सिंहदरबार गेटमा प्रदर्शन
  • काँचुली खबर

१८ असोज,  काठमाडौं । करिब दुई महिनादेखि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीले सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गरेका छन् । अपहरणपछि हत्या गरिएकी बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको मुद्दा अदालत पुर्‍याउनुपर्ने मागसहित धर्नामा बसेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले सिंहदरबार गेटबाट पक्राउ गरेको छ ।

सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । ‘गृहमन्त्रीलाई खोज्न सिंहदरबार प्रवेश गर्न लागेको’ भन्दै उनीहरूले नाराबाजी गरेका थिए । निर्मला कुर्मीको मुद्दा अदालतमा पेस गरिनुपर्ने मागसहित उनीहरू गत साउन २५ देखि माइतीघर मण्डलामा धर्ना बसिरहेका छन् ।

घटनाको अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत मंसिरमै प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पेस गरिसकेको छ । प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा पेस गर्न सरकारी वकिल कार्यालय बाँकेमा पठाइसकेको छ । तर, मुद्दा अझै सरकारी वकिल कार्यालयमा दर्ता हुन सकेको छैन ।

  • १८ आश्विन २०८१, शुक्रबार १६:५२ प्रकाशित
  • Nabintech