छोरीको आमा-बुबा बने दीपिका र रणवीर
  • काँचुली खबर

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह अभिभावक बनेका छन् । आइतबार बिहान दीपिकाले छोरीलाई जन्म दिएकी हुन् । सुत्केरी व्यथा सुरु भएपछि शनिबार उनलाई दक्षिणी मुम्बईको एचएन रिलायन्स हस्पिटलमा भर्ना गरिएको थियो । अस्पताल भर्ना हुनुभन्दा एक दिनअघि दीपिका पूजाआजा गर्न रणवीरको साथमा सिद्धिविनायक मन्दिर पुगेकी थिइन् ।

दीपिकाले गत २८ फेब्रअरीमा आफू आमा बन्न लागेको जानकारी गराएकी थिइन् । रणवीरले केही समयअघि एक अन्तर्वार्तामा दीपिकाजस्तै छोरीको चाहना व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘दीपिका क्यूट बेबी थिइन् । भगवान् मलाई उनी जस्तै छोरी दिनुहोस्, मेरो लाइफ सेट हुन्छ ।’ दीपिका र रणवीरले ५ वर्ष लामो प्रेम सम्बन्धलाई सन् २०१८ मा विवाहमा परिणत गरेका थिए ।

उनीहरुको पहिलो भेट फिल्म ‘गोलियोकी रासलीलाः रामलीला’को सेटमा भएको थियो । यही फिल्ममा काम गर्ने क्रममा उनीहरु प्रेममा डुबेका थिए । उनीहरुले ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘८३’ मा एकसाथ काम गरिसकेका छन् । दीपिका पछिल्लो पटक फिल्म ‘कल्की’मा देखिएकी थिइन् भने रणवीर चाँडै फिल्म ‘डन ३’ मा काम गर्ने तयारीमा छन् ।

  • २५ भाद्र २०८१, मंगलवार १४:४५ प्रकाशित
  • Nabintech