१४ बैशाख २०८१, शुक्रबार
भेरी अञ्चल अस्पतालमा सिकलसेल परीक्षण निःशुल्क
  • काँचुली खबर

भेरी अञ्चल अस्पताल नेपालगन्जले सिकलसेल एनिमियाको निःशुल्क परीक्षण सुरु गरेको छ । एक लाख रुपैयाँबराबरको निःशुल्क उपचार सेवा दिँदै आएको भेरी अञ्चल अस्पतालले बुधबारदेखि सिकलसेल जाँच सेवा पनि निःशुल्क गरेको हो ।

भेरी अञ्चल अस्पतालले यसअघि सिकलसेल परीक्षण गर्न हजार र निजी प्याथलोजीले प्रतिव्यक्ति दुई हजार रुपैयाँ लिँदै आएका थिए । बिरामीको स्वास्थ्यलाई ख्याल गरेर सिकलसेल एनिमिया जाँच निःशुल्क गरिएको भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । विशेषगरी थारू समुदायमा मात्र देखिएको सिकलसेल एनिमियाका कारण बिरामीको आर्थिक अवस्था दयनीय बन्दै गएकाले उपचार र परीक्षण निःशुल्क गरिएको डा. थापाको भनाइ छ ।

थारू समुदायमा खुसी
सिकलसेल जाँच निःशुल्क गरेपछि थारू समुदायमा खुसियाली छाएको छ । सिकलसेल एनिमिया सोसाइटी नेपाल ९स्कास०का अध्यक्ष प्रभुराम थारूले सिकलसेल जाँच गराउन नसकेर ज्यान जोखिममा परेका बिरामीका लागि अस्पतालले ठूलो राहत दिएको बताए । उनले अस्पतालले सुरु गरेको सेवालाई निरन्तरता दिन माग गरेका छन् । ‘अस्पतालले सुरु गरेको निःशुल्क जाँच सेवा एक-दुई महिनाका लागि नभई सधैँका लागि हुनुपर्छ,’ उनले भने ।

रकम अभावमा थारू समुदायका धेरै बिरामीले परीक्षण गराउन नसकेको बताए । उनले सिकलसेल जाँच अभियानलाई गाउँ-गाउँसम्म पुर्याउन आवश्यक रहेको बताए । ‘जबसम्म गाउँ-गाउँमा गएर परीक्षण गरिँदैन तबसम्म सिकलसेल एनिमियाको मारमा थारू समुदाय परिरहनेछ,’ अध्यक्ष थारूले भने ।

एक वर्षमा २७० जनामा सिकलसेल
एक वर्षको अवधिमा भेरी अञ्चल अस्पतालमा रगत जाँच गराएका सात सय ९७ मध्ये दुई सय ७० जनामा सिकलसेल एनिमियाको संक्रमण फेला परेको छ । रगत जाँच गराएकालाई थाल्सिमिया, सिकलसेल तथा विटा थाल्सिमिया र इ-ट्रेट युथ विटा थाल्सिमिया फेला परेको भेरी अञ्चल अस्पतालका प्रयोगशाला प्रमुख प्रदीप ओलीले बताए ।

ओलीका अनुसार आर्थिक वर्ष ०७४|७५ मा ६९ जनामा थाल्सिमिया र केहीमा सिकलसेल तथा विटा थाल्सिमिया र केहीलाई इ-ट्रेट युथ विटा थाल्सिमिया देखिएको छ । भेरी अस्पतालमा बाँके, दाङ, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका बिरामीले रगत परीक्षण गराएको अस्पतालको रेकर्डमा उल्लेख छ । ‘जाँच गराउनेमा सबैभन्दा धेरै बर्दिया, दाङ र कैलालीका छन्,’ ओलीले भने ।

स्थानीय निकायको सहयोगमा गाउँ-गाउँमा परीक्षण


भेरी अञ्चल अस्पतालको प्राविधिक सहयोगमा कोहलपुर नगरपालिकाले सञ्चालन गरेको सिकलसेल एनिमिया जाँच शिविरमा ११ प्रतिशतमा सिकलसेल एनिमिया फेला परेको थियो । विद्यालयमा गरिएको परीक्षणमा ११ प्रतिशत बालबालिकामा सिकलसेल फेला परेको कोहलपुर नगरपालिकाका उपमेयर सञ्जकुमारी चौधरीले बताइन् ।

उनका अनुसार एक हजार ३५० विद्यार्थीको सिकलसेल जाँच गरिएको थियो । तीमध्ये एक सय ५२ जनामा सिकलसेल एनिमिया फेला परेको थियो । त्यसैगरी बाँसगढी नगरपालिकाका थारू समुदायमा सिकलसेल परीक्षण गर्दा १० प्रतिशत र बार बर्दिया नगरपालिकामा परीक्षण गर्दा २४ प्रतिशतमा सिकलसेल फेला परेको छ ।

मेसिन प्रयोगविहीन
जिल्ला जनस्वास्थ्य कार्यालयले प्रदान गरेको इलेक्ट्रोफ्रोसिस मेसिन प्रयोगविहीन भएको छ । मेसिनले राम्रो काम नगरेपछि एक वर्षदेखि थन्किएको अस्पतालका प्रयोगशाला प्रमुख ओलीले बताए । उनले सो मेसिनले रिपोर्ट राम्रो नदिएको बताए ।

केमिकल नआउँदा पटक-पटक जाँच सेवा प्रभावित
इलेक्ट्रोफ्रोसिस जाँच गर्न प्रयोग हुने केमिकल समयमा उपलब्ध गराउन अस्पताल प्रशासनले सरकारसँग माग गरेको छ । केमिकल समयमा नआउँदा सिकलसेल जाँच प्रभावित हुने गरेको प्रयोगशाला प्रमुख ओलीले गुनासो गरे । उनले केमिकलका कारण गत असारमा २५ दिनसम्म सिकलसेल जाँच हुन नसकेको बताए । जाँच गर्न प्रयोग हुने केमिकल सहज रूपमा पाउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दै उनले अन्य महिनामा पनि केमिकल अपुग हुने गरेको बताए । केमिकल नहुँदा जाँच नगरी नहुने बिरामीलाई बाहिरको ल्याबमा पठाउन बाध्य हुने गरेको उनले बताए ।

तीन महिना निःशुल्क त्यसपछि अन्योल
अस्पतालले जिल्ला जनस्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा सिकलसेल एनिमिया बिरामीको रगत जाँच निःशुल्क गर्न सुरु गरेको हो । जनस्वास्थ्यले इलेक्ट्रोफ्रोसिस जाँच गर्ने केमिकल उपलब्ध गराएपछि जाँच सेवा निःशुल्क गरिएको डा। थापाले बताए । तर, जनस्वास्थ्यले प्रदान गरेको केमिकल तीन महिना मात्र पुग्ने भएकाले त्यसपछि अप्ठेरो पर्ने भएको छ । ‘जनस्वास्थ्यले दिएको केमिकल छँदासम्म निःशुल्क हुन्छ, त्यसपछि भन्न सकिन्न,’ उनले भने, ‘अस्पतालको रकमबाट सधैँभरि निःशुल्क सेवा दिन सक्ने अवस्था छैन ।’ उनले स्थानीय निकायसँग केमिकल खरिदका लागि रकम माग गर्ने बताए । सिकलसेल एनिमिया देखिएका स्थानका स्थानीय निकायले आर्थिक सहयोग गरे मात्र निःशुल्क रगत जाँचलाई निरन्तरता दिन सकिनेछ ।

 

स्रोत : नयाँ पत्रिका

  • ११ श्रावण २०७५, शुक्रबार १४:३२ प्रकाशित
  • Nabintech