नेपालगन्ज नाकाबाट दाेब्बरले बढ्याे प्लाइउड निकासी
  • काँचुली खबर

१२ साउन, नेपालगन्ज । नेपालगन्ज नाकाबाट भारततर्फ हुँदैगएको प्लाइउड निकासी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।

नेपाली प्लाइउडको माग भारतका विभिन्न सहरमा बढ्दै गएपछि निर्यात पनि बढ्दै गएको हो । गत आर्थिक वर्ष २०८०-८१ मा नेपालगन्ज नाकाबाट २९ करोड ९३ लाख भन्दा बढीको प्लाइउड भारत निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९-८० मा यो नाकाबाट १४ करोड १२ लाख ५४ हजार रुपियाँको मात्र प्लाइउड निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा १६ करोड रुपियाँ बढीको प्लाइउड भारत निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले बताए ।

उनले अघिल्लो आर्थिक वर्ष २०७९-८० मा नेपालगन्ज नाकाबाट १४ करोड १२ लाख ५४ हजार रुपियाँको प्लाइउड निकासी भएकोमा गत आर्थिक वर्ष २०८०-८१ मा दोब्बर बढी २९ करोड ९३ लाख ६१ हजार रुपियाँको निर्यात भएको बताए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १५ करोड ८१ लाख ७ हजार रुपियाँ बढीको प्लाइउड निर्यात भएको छ । निर्यात दोब्बर वृद्धि भएपछि नेपालगन्जका प्लाइउड व्यवसायी उत्साहित छन् । खासगरी नेपालमा उत्पादित उत्तिसका बिरुवाबाट निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्त रहेको उद्योगी व्यवसायीले बताएका छन् ।

भारतमा प्लाइउडको कच्चा पदार्थको मूल्य बढ्नु र प्लाइउडलाई पनि निर्यातमा नगद अनुदान पाइने वस्तुको सूचीमा समावेश गरिनुले नेपालबाट हुने यसको निर्यात लगातार बढिरहेको बाँकेमा प्लाइउड उत्पादन गर्दै आउनु भएका व्यवसायी पशुपति दयाल मिश्रले बताए ।

उनले नेपालबाट जाने सस्तो मूल्यको प्लाइउडको खपत भारतको लखनउ, कानपुर, दिल्ली, आगरा, देहरादुन लगायतका बजारसम्म हुनेगरेको बताए । नेपालगन्जका अर्का प्लाइउड उद्योगी चम्पालाल बोथराले भारतमा नेपाली प्लाइउडको माग बढ्दै गएपछि आफूहरू निकै उत्साहित भएको उनको भनाइ छ

  • १२ श्रावण २०८१, शनिबार १६:०४ प्रकाशित
  • Nabintech