पोल्ट्री फार्मको पर्खाल खस्दा २०० बढी कुखुरा मरे
  • काँचुली खबर

९ जेठ, नेपालगन्ज । सोमबार साँझ आएको हावाहुरीका कारण बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा कुखुरा खोरको पर्खाल खस्दा २०० बढी कुखुरा मरेका छन् ।

हावाहुरीले दुईसय बढी कुखुरा मर्नुका साथै ग्यारेज, खोर तथा दाना मिल, बिद्युत तथा सिसिक्यामेरा र होर्डिङ बोर्डमा ठुलो क्षति पुगेको कुखुरा विकास फार्मका प्रबन्धक डा। सुमन खनालले बताए ।

उनले फार्ममा रिप्लेसमेन्ट स्टकका लागि हुर्काइएको ८ हप्ते दुईसय बढी कुखुरा मरेको र कालिजको एउटा भाले र ४ वटा पोथी भागेको बताए । सोही प्रकारले हावाहुरीले फार्मको ग्यारेजमाथि आँपको रुख ढल्दा ग्यारेजको छत तथा भित्तामा अधिकतम क्षति पुगेको छ । सो ग्यारेजमा पार्किङ गरिएका भे १ च १७०७ र भे १ च ६४३ नम्बरको मोटरसाइकल तथा भे १ प १७२३ नम्बरको स्कुटरमा क्षति पुगेको कुखुरा विकास फार्मले जनाएको छ ।

फार्मको खोर नम्बर जी १, जी २ र जी ३ को छाना पूर्णरुपमा क्षति भएको, कालिजका लागि बनाइएको ओपन यार्डमा पूर्ण क्षति भएको, खोर नम्बर एल ३, एल ४ र एल ५ को छानामा क्षति भएको, दाना मिलको छतको चारै कुनामा क्षति पुगेको बताइएको छ ।

क्षतिग्रस्त संरचना तत्काल निर्माण गर्नुपर्ने भएकाले लागत अनुमान तयार गर्ने काम भइरहेको फार्मका प्रबन्धक डा. खनालले बताए । यसैगरी बिद्युत तथा सिसिक्यामेराको तार तथा मिटरमा पनि क्षति भएकाले आंशिक क्यामेरा तथा विद्युतको प्रसारण अवरुद्ध भएको उनले बताए ।

प्रारम्भिक क्षतिको विवरण लुम्बिनी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गत रहेको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलमा पठाइएको फार्म प्रबन्धक डा. खनालले बताए ।

सोही हावाहुरीबाट बाँकेमा विद्युतका २०० बढी पोल र चारभन्दा बढी ट्रान्सफर्मर ढलेर क्षति भएको बताइएको छ । हावाहुरीले विद्यालय, घरहरूको छाना तथा पर्खाल पनि भत्किएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • ९ जेष्ठ २०८१, बुधबार १८:४२ प्रकाशित
  • Nabintech