७ जेष्ठ २०८१, सोमबार
लागूऔषध कारोबारी पक्रन बारम्बार ‘फायरिङ’ : बाध्यता कि अपराधी तर्साउन गोली बर्साउँछ प्रहरी ?
  • काँचुली खबर

२८ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरस्थित पिपरा रोडमा बिहीबार बिहान प्रहरीले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गर्‍यो । काठमाडौंस्थित लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) बाट खटिएको प्रहरी टोलीले कारोबारीलाई नियन्त्रणमा लिन गोली नै चलाउनुपर्ने अवस्था कसरी आयो ? एनसीबीका प्रमुख एसएसपी गोविन्द थपलिया भन्छन्, ‘प्रहरीलाई हम्मरले हान्न थालेपछि एक राउण्ड गोली प्रहार गरिएको हो । बायाँ खुट्टामा सामान्य चोट मात्रै लागेको छ ।’

गोली लागि घाइते भएका सुशील परियार रुपेडिया नाकाबाट भारतीय लागूऔषध कारोबारीसँग सेटिङमा खैरो हेरोइन नेपालमा ल्याएर बिक्री गर्ने गरेको सूचना एनसीबीलाई आएको थियो । विगत चाररपाँच दिनदेखि एनसीबीको टोली बाँकेस्थित कोहलपुरमा पुगेर परियारलाई ‘रेकी’ गरिरहेको थियो । एनसीबीबाट प्रहरी निरीक्षक रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलले बाँके प्रहरीको समन्वयमा परियारको निगरानी बढाएका थिए । ‘भारतीय नागरिक ‘भाइजान’सँग मिलेर परियारले लागूऔषध खैरो हेरोइनको कारोबार गरेको देखियो,’ थपलियाले भने, ‘एनसीबीको चाहना भाइजानलाई नै पक्राउ गर्ने थियो तर, प्रहरी देख्नेवित्तिकै परियारले हम्मरले झट्टी हानेर भाग्न खोजे । प्रहरीले गोली चलाएपछि भीड जम्मा भयो । सोधीखोजी गर्न थालेपछि घटनाबारे सबैतिर हल्ला मच्चियो ।’

एनसीबीका अनुसार भे ६ प ६२०६ र भे ५ प ३१३५ मा क्रमशस् कोहलपुर चौपरगौडीका परियार र प्रमोद कार्की हुइकिँदै आएपछि रोक्न खोज्दा उनीहरू भागेका थिए । प्रहरीले ‘रोकरोक’ भन्दाभन्दै भाग्न खोजेपछि लखेट्न खोज्दा उल्टै हम्मरले हान्न थालेपछि गोली चलाएको जिकिर एसएसपी थपलियाको छ ।

त्यसो त प्रहरीले यसअघि पनि लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । झापा गाउँपालिका-४ खैरबारीका २५ वर्षीय सरिफूल आलमलाई नियन्त्रणमा लिन गत वैशाख १७ गते प्रहरीले गोली प्रहार गरेको थियो । प्रहरीमाथि नै खुकुरी प्रहार गर्न खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको प्रहरी दाबी थियो । तत्कालीन समयमा प्रहरीले सरिफूल आलम घाइते भएका थिए । उनको साथबाट प्रहरीले ११६.६० ग्राम ब्राउनसुगर, दाउ र खुकुरी बरामद गरेको गरेको थियो ।

२०८० कात्तिक १५ मा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । काठमाडौंको गोठाटारमा ब्राउन सुगर कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीले भारतीय नागरिक मोहम्मद करिम घाइते भएका थिए । उनले प्रहरीमाथि नै गोली चलाएपछि प्रहरीले जवाफी फायर गरेको थियो । प्रहरीले तत्कालीन समयमा एक थान पेस्तोल र त्यसमा लाग्ने तीन राउण्ड गोली बरामद गरेको थियो ।

२०७६ जेठ २९ गते पोखराको उत्तम चोकमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन एनसीबीको प्रहरी टोलीले गोली चलाएको थियो । उत्तम चोकमा रहेको एक क्याफेमा ग १३ प ८२२८ नम्बरको मोटरसाइकलमा पुगेका कारोबारीलाई प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रतिकार गरेपछि गोली चलाएको थियो । गोली लागेर पोखरा-१० का गोविन्द थापा घाइते भएका थिए । उनी लागूऔषध कारोबारी भएको प्रहरी दाबी थियो ।

माथिका यी घटना हेर्दा कारोबारीबाट बरामद गरेको लागूऔषध परिमाण र गोली लागेर घाइते भएकाहरू ठूला र्‍याकेट सञ्चालन गर्ने कारोबारीजस्ता देखिँदैनन् । प्रहरीले तर्साउन र नियन्त्रणमा लिनकै लागि पनि गोली चलाउने गरेको टिप्पणी हुँदै आएको छ ।

मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी प्रहरीको यो कदमलाई गैरजिम्मेवारीपूर्ण भन्छिन् । ‘पछिल्ला दिनमा सामान्य कारोबारी वा दुर्व्यसनकर्तालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदै आएको देखिन्छ,’ अन्सारीले भनिन्, ‘अहिले देशमा संकटकाल छ र ? आरोपीलाई पक्राउ गर्न गोली नै चलाउनुपर्ने अवस्थाबारे प्रहरीले गम्भीर भएर समीक्षा गर्नुपर्छ । ऊ जवाफदेही हुनुपर्छ ।’

प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गरेको भनेर अभिव्यक्ति दिए पनि त्यसको पुष्टि गर्ने आधार खोज्नुपर्ने बेला आएको अन्सारीको बुझाइ छ । उनले बन्दुक चलाएर अपराधी तर्साउनेभन्दा पनि अपराध नै हुन नदिने दिशातर्फ प्रहरी लाग्नुपर्ने बताइन् ।
लोकान्तरबाट

  • २८ बैशाख २०८१, शुक्रबार १५:३४ प्रकाशित
  • Nabintech