घाईतेलाई बन्धक बनाएर सहमती गर्न अस्पताल प्रशासनको दवाव
  • काँचुली खबर

२१ बैशाख, कोहलपुर । सडक दुर्घटनामा घाईते भएकी एक महिलालाई अस्पताल प्रशासनले बन्धक बनाएको घटना सार्वजनिक भएको छ । बाँकेको कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरले बिगत ६ दिनदेखि एक महिलालाई उपचारको नाममा बन्धक बनाएको र उनको अवस्था समेत सार्वजनिक नगरेको पिडित पक्षको भनाई छ ।

बैशाख १५ गते कोहलपुर नगरपालिका वडा नं. ११ को तेह्र विगाह चोकमा पानी बोक्ने पिकअप भ्यानले ठक्कर दिंदा घाईते भएकी जुना बोहराको घटना दिन प्रतिदिन पेचिलो बन्दै गएको छ । सामान्य मजदुरी गर्दै आएकी जुनालाई मजदुर दिवसकै दिन भे १ च २७६७ नम्बरको गाडिले ठक्कर दिएको थियो ।

घटना लगत्तै घाईतेलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएकोमा गाडि मालिक समेत उक्त अस्पतालका कर्मचारीको दवावमा महिलालाई अस्पतालभित्रै बन्धक बनाईएको पिडित पक्षको भनाई छ ।

घाईते जुनाको अवस्था मंगलबारसम्म ठिकै थियो । सामान्य रूपमा बोल्दै गरेकी जुनालाई अस्पताल प्रशासनले बुधबार अकस्मात कोमामा पुगेको बताएपछि घटनाले अर्कै रूप लिएको छ । मंगलबारसम्म अस्पतालमै बन्धक बनाएर अन्यत्र रिफर गर्न नमानेको अस्पताल प्रशासनले बुधबार एकाएक भेन्टिलेटर सहितको एम्बुलेन्स मगाएर अन्यत्र लैजान पिडित पक्षलाई दवाव दिनुले घटना थप शंकास्पद बन्न पुगेको छ ।

पिडित पक्षले अन्तिम अवस्थामा अन्यत्र लैजान नसक्ने भन्दै ईन्कार गरेपछि अस्पतालले अहिले पिडित पक्षसँग मिल्न बिभिन्न राजनैतिक दवाव शुरु गरेको पाईएको छ ।

घाईते जुना बोहराका दाजु जिवराज बोहराले उपचार गर्दा धेरै खर्च हुने र जिवित भएपछि उनको भरन-पोषण गर्नुपर्ने भएकाले त्यहाँ कार्यरत कर्मचारी समेत रहेका मध्यपश्चिम पानी उद्योगका मालिक उदित बाबु रेग्मीको सेटिङमै जुनाको देहलिला समाप्त पार्ने षड्यन्त्र भएको बताए । अब सास होस या लाश केहि नबुझने र बुझनै परे मंगलबारर राति अस्पतालको आईसियु कक्षमा के कस्तो चलखेल भयो र को-को आईसियु कक्षमा प्रवेश गरी के-के गरेका थिए त्यसको सिसि टिभि फुटेज हेरेर मात्रै अगाडि बढ्ने बोहराले बताए ।

तर अस्पताल प्रशासनले भने पिडित पक्षसँग सहमति भएपछि मात्र घाईतेको अवस्था बताउने भन्दै बार्गेनिङ गर्न थालेपछि पिडित पक्ष थप आक्रोशित भएका छन ।

‘मंगलबार बोल्ने र सबैलाई चिन्ने घाईते कोमामा (भेन्टिलेटर) कसरी पुगिन ?’ जुनाकाकी आमा ख्याउटि बोहराले भनिन, ‘पहिले अप्रेसन गर्नुछ दस्तखत गर्नुहोस भन्ने त्यसपछि अब तपाईको घाईतेलाई यहाँ उपचार सम्भव छैन अन्यत्र लैजानोस भन्ने । यो जिउदो लाशमाथिको राजनिती हो ।’

आफुहरूले घाईतेलाई अन्यत्र लैजान्छौं भन्दा पिडक पक्षका उदित बाबु रेग्मीले अन्यत्र लगे आफुले उपचार खर्च ब्यहोर्न नसक्ने भन्दै यहि राख्न बाध्य पारेको र घाईतेलाई उपचारको नाममा मार्ने प्रपञ्च रचेको भन्दै बोहोराले प्रहरी प्रशासन तथा महिला अधिकारवादिहरुलाई घटनाको अनुसन्धानमा सघाउन आह्वान गरेको छन ।

पिडक रेग्मि पक्षका उदित बाबु मात्र हैन उनको घरका अन्य सदस्यहरु समेत सोहि अस्पतालमा स्वास्थ्यकर्मिका रुपमा कार्यरत रहेकाले सबैको मिलेमतोमा मंगलबार राती घाईते जुनालाई कोमामा पुर्याउने काम भएको पिडित पक्षको आरोप छ ।

जुनाको उपचार र बचाउ भन्दापनि पिडक रेग्मिलाई कसरी बचाउने भन्दै अहिले राजनितिक दाउपेच सुरू भएको छ । पिडित पक्षलाई सहमतिमा ल्याउन नेपाली काङ्ग्रेस कोहलपुर नगर समितीका सभापति विरेन्द्र कुमार शाह, नेपाली काँग्रेसका कार्यकर्ता बद्रिनाथ सापकोटा लगाएत सिंगो कोहलपुर नगर समिती पिडकको पक्षमा लागेको छ भने अन्य दलका प्रतिनिधिहरूले बिरामीको अवस्था बाहिर आए मात्र सहमतिका सवालमा छलफल गर्न तयार रहेको बताउँदै आएका छन ।

उपचार गर्न आएका ब्यक्तिले बाँच्न पाउने अधिकार समेत गुमाउने अवस्थामा पुगेको बेला सुरू भएको चलखेलप्रति बिभिन्न बुद्धिजिवि तथा नेपाली काङ्ग्रेसकै महाधिबेशन प्रतिनिधिहरुले खेद ब्यक्त गरेका छन ।

पिडित पक्षका तर्फबाट वकालत गर्दै आएका कृष्ण कुमार आचार्यले जुनाको अहिले ब्रेन डेथ भएको चिकिसकहरुले बताएको भएपनि उनी मृत भईसकेको आशंका गर्दै अस्पतालले आफुहरुलाई यो या त्यो बहानामा अल्झाउन खोजिरहेको बताए । उनका अनुसार अस्पतालले आफु शुरक्षित हुनकालागी सहमतीको कार्ड फ्याँकेपनि सहमति अगाडि नै बिरामिको बास्तविक अवस्थाबारे जानकारी गराउनुपर्नेमा जोड दिएका छन ।

यता बिरामीका आफन्तहरुले घटनाबारे कुनै चासो नलिएको भन्दै सल्यानी सेवा समाजको आौचित्य माथि प्रश्न उठाएका छन । एक सल्यानीले बोल्दा बोल्दै कोमामा जानुपर्ने स्थितीका पछाडि को-को पात्रहरुको हात छ त्यो बारे आवाज वुलन्द पार्नु पर्नेमा अहिलेसम्म समाजले कुनै चासो नदेखाएको भन्दै पिडित पक्ष आक्रोशित भएका हुन ।

सल्यान बनगाड कुपिण्डे माईति घर भई कोहलपुरमा डेरा गरी बस्दै आएकी जुना बोहरा एकल महिला हुन । पतिसँग अलग भई बस्दै आएकी जुनाले ज्याला मजदुरी गरेरै आफ्ना दुई सन्तानलाई हुर्काईरहेकी थिईन ।

गलत गरेका छैनौ, म आफै पिडित छु : रेग्मी

यस विषयमा आफु स्वयम पिडित भएको मध्यपश्चिम पानी उद्योगका संचालन उदित बाबु रेग्मीले प्रतिक्रिया दिएका छन । काँचुली खबरसँगको कुराकानीका क्रममा रेग्मीले आफ्नो नाम जोडेर बाहिर आएका कुरामा कुनै सत्यता नभएको बताए । अस्पताल प्रशासनसँग आफुलाई जोडेर बाहिर आएका कुराले आफु स्वयं पिडित भएको रेग्मीले जिकिर गरे ।

घटना भएलगत्तै आफु स्वयं खटीएर घाईतेको उपचारको सम्पूर्ण प्रबन्ध मिलाएको बताउँदै रेग्मीले बिरामीको पछिल्लो अवस्थाका बारेमा भने आफुलाई कुनै जानकारी नभएको दाबी गरे । घाईतेको टाउकोमा रगत जमेको र टाउको पछाडीको हड्डी भाँचीएकाले अवस्था जटिल भएको चिकित्सकहरुले बताएको रेग्मीले बताए । यद्यपी भेन्टिलेटरमा राखेर उनको उपचार भईरहेको र सम्पूर्ण खर्च आफुले ब्यहोरीरहेको रेग्मीको भनाई छ ।

चिकित्सकहरुकै आग्रहमा घाईतेलाई अन्यत्र रिफर गर्न नसकिएको रेग्मीले जिकिर गरे । टाउकोमा चोट लागेकाले हवाईमार्ग वा एम्बुलेन्सबाट अन्यत्रै लैजादा बिरामीको अवस्था झन जटिल हुने वा मृत्युसम्म हुन सक्ने देखिएकाले रिफर गर्न नसकिएको अस्पताल प्रशासनले जनाएको रेग्मीको भनाई छ ।

  • २१ बैशाख २०८१, शुक्रबार १२:०२ प्रकाशित
  • Nabintech