४ जेष्ठ २०८१, शुक्रबार
खडेरीसँगै तराईमा सुक्न थाले खानेपानीका मुहान
  • काँचुली खबर

१८ बैशाख, कोहलपुर । केही दिन यता पश्चिम् तराईको जनजीवन खडेरी र गर्मीले निकै कष्टकर बन्दै गएको छ । अझ पानीको स्रोत सुक्दै गएपछि बाँके जिल्लामा पिउने पानीको साथै दैनिक उपभोग्य प्रयोगको लागि पानीको हाहाकार भएको छ ।

जिल्लाको नेपालगन्ज, कोहलपुर, खजुरा, बैजनाथ, नरैनापुर, डढुवा लगायतका क्षेत्रका अधिकांश घरहरूमा हाते नलबाट पानी आउन छोडेको छ ।

सुख्खा हावा चलेसँगै बाँकेका नागरिकले प्रयोग गर्ने हाते नल समेत सुक्न थालेका छन । हाते नल सुक्दै गए सँगै खानेपानीको जोहो गर्न समस्या परेको छ । वर्षेनी नल्काको धारामा पानी सुक्दा यहाँका स्थानीयबासीले खानेपानीको समस्या भोग्दै आएका छन् ।

खानेपानीको पहुँच नपुगेको क्षेत्रमा हाते नलको पानी सुकेपछि यस क्षेत्रका मानिसकी दैनिकी कष्टकर बन्दै गएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ गौर गाउँमा पनि वैशाख लागे देखी नै हाते नलमा पानी सुकेको स्थानीय तारा चन्द बताउँछिन ।

केही हप्तादेखि हाते नलबाट पानी आउनै छाडेपछि पिउन र कपडा सफाइ गर्न लगायत अन्य घरायसी कामको लागि निकै समस्या भएको चन्दले गुनासो गरीन । बारीमा लगाएको फलफूल र तरकारीका बोट बिरुवा समेत सुक्न थालेको उनले बताईन ।

पानीको समस्या समाधानको लागि कसैले पनि चासो नदिएकोमा स्थानीय चिन्तित छन् । दैनिक आवश्यक पर्ने पानीको व्यवस्थापनमा स्थानीय तह र सरोकारवाला निकायले समेत ध्यान नदिँदा यहाँका बासिन्दा समस्यामा परेको बताउँछिन स्थानीय हरिमाया थापा ।

बाँके जिल्लाको सबै ठाउँमा खानेपानीको पहुँच नपुगेकोले पनि पानीको समस्या भएको स्थानीयको ठम्याई छ । भने यता आयोजनाको खानेपानी पुगेको ठाउँमा पनि पानी आउन बन्द भएको कोहलपुरकै रमेश खनालको भनाई छ । बिहान बेलुका तिरिक तिरिक आउँछ एक बाल्टी पानी भर्नै कति समय लाग्छ । यता कोहलपुर खानेपानी आयोजनाले खडेरीको कारण पानीको मुहान सुकेकोले भने जति पानी पुर्‍याउन नसकेको निश्चित समयमा मात्र पानी छोडिने भन्दै सूचना समेत प्रकाशित गरेको छ ।

जथाभाबी समर सेल गाढेकै कारण हाते नल्का सुक्दै गएकोले बाँकेवासीको गुनासो छ। बर्सेनि हाते नलमा पानी सुक्दै जाने समस्या बढ्दै जाने हो भने बर्सेनि यहाँका नागरिकले ठुलो क्षति व्यहोर्नुपर्ने छ । त्यसैले स्थानीय सरकार र सम्बन्धित निकायले दीर्घकालीन रुपमा समस्या समाधानको पहल गर्न आवश्यक देखिन्छ ।

-रेडियो नेपालबाट

  • १८ बैशाख २०८१, मंगलवार १४:४३ प्रकाशित
  • Nabintech