३० बैशाख २०८१, आईतवार
नेपाली नागरिककालागी चिनियाँ भिसा नि:शुल्क
  • काँचुली खबर

१६ वैशाख, काठमाडौं । चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ ।

१ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।

दूतावासका अनुसार नियमित भिसा शुल्क नलागे पनि एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने छ ।

चिनियाँ दूतावासले नियमित, एक्सप्रेस-१ र एक्सप्रेस-२ भिसाका लागि शुल्क लिने गरेको थियो । नियमित शुल्क अब लाग्ने छैन । दूतावासले एक्सप्रेस-१ का लागि ४०० र एक्सप्रेस-२ का लागि २ हजार ७०० रुपैयाँ लिने छ । यसैगरी ग्रुप भिसातर्फ एक्सप्रेस-१ का लागि २ हजार र एक्सप्रेस-२ का लागि १ हजार ३५० रुपैयाँ लाग्ने दूतावासले जनाएको छ ।

यसैगरी भिसा सेन्टरले नियमित भिसाका लागि सेवा शुल्कवाफत् ३ हजार ९०० रुपैयाँ लिनेछ । एक्सप्रेस-१ का लागि ७ हजार ८०० र एक्सप्रेस-२ का लागि ५ हजार ८५० रुपैयाँ तोकिएको छ ।

नेपालले पहिलेदेखि नै चिनियाँलाई भिसा शुल्क लिँदैन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हालै गरेको चीन भ्रमणको क्रममा नेपालीलाई भिसा निःशुल्क गर्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए ।

  • १६ बैशाख २०८१, आईतवार १३:४८ प्रकाशित
  • Nabintech