२३ बैशाख २०८१, आईतवार
बाँकेबाट बालबन्दिसहित १० हजार बढिले १२ कक्षाकाे परीक्षा दिदैं
  • काँचुली खबर

१४ बैशाख, नेपालगन्ज । राष्ट्रिय परीक्षा बाेर्डले शुक्रबारबाट सञ्चालन गर्न लागेको कक्षा १२ को परीक्षामा बाँकेबाट बाल सुधारगृह र कारागारका बन्दीसहित १० हजारभन्दा बढी सहभागी हुँदैछन् ।

बाँकेका विभिन्न २८ वटा परीक्षा केन्द्रमार्फत् जिल्लाका १० हजार ९९१ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिन लागेको राष्ट्रिय परीक्षा बोर्ड कोहलपुर बाँकेका कार्यालय प्रमुख रामशुरेस यादवले जानकारी दिए ।

कार्यालय प्रमुख यादवका अनुसार नौबस्तास्थित बाल सुधारगृहका ६ जना बालबन्दी (बालबिज्याइँकर्ता), डुडुवास्थित जयेन्दु बाल सुधारगृहका २५ जना बालबन्दी र नेपालगन्ज कारागारका चार जना कैदीबन्दीले १२ कक्षाको परीक्षा दिन लागेका हुन् ।

नौबस्तास्थित बाल सुधारगृहका बालबन्दीलाई कोहलपुरस्थित ज्ञानज्योती मावि परीक्षा केन्द्र र जयेन्दु बाल सुधारगृहका बालबन्दी र नेपालगन्ज कारागारका कैदीबन्दीलाई नेपालगन्जस्थित मङ्गलप्रसाद माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

आजबाट सञ्चालन हुन लागेको कक्षा १२ को परीक्षालाई शान्त तथा मर्यादित बनाउन बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आग्रह गरेका छन । उनले उक्त कार्यमा आवश्यक सहकार्य, समन्वय एवम् सहजीकरण गर्न अनुरोधसमेत गरेका छन ।

परीक्षामा मर्यादा विपरीतका कुनै गतिविधि नगर्न नगराउन र त्यसतो कार्य कतै भएको पाइएमा प्रशासनलाई जानकारी गराइ जिम्मेवार नागरिकको कर्तव्य पुरा गर्न सबैमा अनुरोधसमेत गरेका छन ।

  • १४ बैशाख २०८१, शुक्रबार ०८:५८ प्रकाशित
  • Nabintech