२० बैशाख २०८१, बिहीबार
कक्षा ८ को नतिजा प्रकरण : छानविन समितिले आज प्रतिवेदन बुझाउने
  • काँचुली खबर

७ बैशाख, कोहलपुर । कोहलपुर नगरपालिकामा संचालित कक्षा ८ को नतिजा प्रकाशनका क्रममा भएको चलखेलको बारेमा छानविन गर्न गठित छानविन समितिले आज प्रतिवेदन बुझाउँदै छ । उक्त प्रकरणको सम्बन्धमा दुई साता लामो अनुसन्धान पछि आज प्रतिवेदन बुझाउन लागीएको स्रोतले जनाएको छ । निर्धारीत समयमा अनुसन्धान नसकिएको भन्दै कोहलपुर नगरपालिकाले समितिलाई दिएको थप समय समेत आज सकिदैं छ ।

नगर शिक्षाले सञ्चालन गरेको कक्षा ८ को नगर स्तरीय परीक्षा सम्पन्न पश्चात प्रकाशित गरेको नतिजामा धाधली भएको तथ्य सहितको समाचार प्रकाशीत भएपछि नगरपालिकाले वडा नं। १२ का वडाध्यक्ष विरेन्द्र कुमार शाहको संयोजकत्वमा छानविन समिती गठन गरेको थियो ।

नतिजा प्रकाशनमा शैक्षिक माफियाको चलखेल हुन सक्ने भन्दै समाचार बाहिरीएपछि सिंगो कोहलपुर नै तरंगित भएको थियो । बिभिन्न विद्यालय तथा ब्यक्तिगत रुपमा समेत उजुरी परेपछि नगरपालिका छानविन समिति गठन गर्न बाध्य भएको थियो ।

लामो अवधिसम्म उत्तर पुस्तिका चेकजाँच पुन नतिजाको योगफल जाँच र विभिन्न ब्यक्तिहरुसँग वयान समेत लिएको विरेन्द्र कुमार शाहको संयोजकत्वमा गठित छानविन समितीले आज साँझसम्म प्रतिवेदन सार्वजनिक गर्ने गरि तयारीमा जुटेको सुचना प्राप्त भएको छ । एक अनौपचारीक कार्यक्रममा नगर प्रमुख पुर्ण प्रसाद आचार्यले ७ गते साँझसम्म नतिजाबारे आम नागरिकले देखाएको चासोलाई सम्बोधन गर्ने गरी प्रतिवेदन आउने बताएको स्रोतले जनायो ।

नगर प्रमुखले उक्त प्रकरणमा दोषि देखिए जो कोहिलाई पनि निर्मम तरिकाले कारबाहि गर्ने सर्वपक्षीय बैठकमा प्रतिबद्धता जनाएका थिए । नगर स्रोतले समेत शिक्षामा हुने चलखेल र तिगडमवाजलाई कारवाही गरेरै छाड्ने बताएको छ । विगतको नतिजा र बर्तमानको नतिजा संकलन, भिडान र अध्यन समेत भईरहेको उल्लेख गर्दै नगरपालिका स्रोतले उत्तर पुस्तिकामा एउटा, उत्तर सिटमा एउटा र कम्प्युटर प्रबिष्टिमा अर्को किसिमको नतिजा देखाउनमा संलग्नहरुको पहिचान गर्दै निर्मम रुपले प्रस्तुत हुनेगरी नगर प्रमुखले तयारी गरेको जनाएको छ ।

आर्थिक चलखेल भएको हो वा होईन भन्ने तथ्य समेत नगर प्रमुखले आफैले अध्ययन गरिरहेकाले जनप्रतिनिधि, शिक्षक, कर्मचारी जो दोषि देखिए पनि कारवाहिको दायरामा ल्याउन नचुक्ने स्रोतको दावी छ ।

यद्यापि केहि आफ्नो विद्यालयमा परीक्षा केन्द्र भएका विद्यालयहरुको अपेक्षा भन्दा फरक नतिजा आएपछि आम नागरिकहरुको कोहलपुर १० को जिवन ज्योती स्कुल र कोहलपुर २ मा रहेको जनज्योती पब्लिक स्कुललाई शंकाको दृष्टिले हेरेका छन । एक शिक्षकका अनुसार ती विद्यालयका परिक्षार्थीहरुले लेखेको उत्तरपुस्तिका हेर्दा लेखिने लिपि बाहेक अन्य कुनै कुरा फरक देखिएको छैन ।

सहभागि सबैले उत्तर एउटै तरिकाले लेखेको र अंक समेत उस्तै प्रकृतीको आएपछि आफु चकित भएको उनले खुसाला गरेका छन । ‘कक्षा ८ को परीक्षा केन्द्र भएका यी विद्यालयले कि त प्रश्न पत्र नै परीक्षा अघि आउट गरेको हुनुपर्छ कि अरु चलखेल गरेको हुनुपर्छ’ उनले आश्चर्यभावमा भने । लिपि फरक हुनु स्वाभाविक हो तर लेखन शैलि, कमा फुल स्टप र प्यारेग्राफ चेन्ज समेत सेम कसरी हुन्छ ? उनले प्रतिप्रश्न गरे ।

यसैविच नतिजाको चलखेल हुने गरेको थप पुष्टि कोहलपुर १० मा रहेको त्रिभुवन माविको एक घटनाले समेत उजागर गरेको छ । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष समेत रहेका रतन बुढाले आफ्नो छोरा शुभम बुढालाई तीन विषयमा फेल भएपनि पावरको दुरूपयोग गर्दै पास गराएको नाम नबताउने शर्तमा एक शिक्षकले बताए ।

यस विषयमा विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रतन बुढासँग कुरा गर्दा उनले आफ्नो छोरो पढाईमा कमजोर भएको स्विकार गर्दै ३ विषयमा फेल भएको साँचो भएको बताएका छन । तर आफुले कहि कतै पावर नलगाएको भन्दै कपि जाँच गर्ने, उत्तर सिटमा चढाउने कसले के चलखेल गरेर पास गराए आफु अनभिज्ञ रहेको बताएका छन ।

यस्ता स-साना छिद्रहरु खोज्दै जाने हो भने कोहलपुरको शिक्षा प्रणाली नै ध्वस्त भईसकेको आँकलन गर्न सकिन्छ । अध्ययन अध्यापन गर्ने परिपाटीको अन्त्य हुदै चिट चोर्ने चोराउने, प्रश्न पत्र आउट गराएर पास गराउने जस्ता विकृतीले कोहलपुरको शैक्षिक भविष्य अन्धकारतर्फ उद्देतित हुँदै गएको संकेत गर्दछ ।

  • ७ बैशाख २०८१, शुक्रबार ०९:३९ प्रकाशित
  • Nabintech