१७ बैशाख २०८१, सोमबार
बाँकेबाट नौ महिनामा दुई सय १६ जना पक्राउ
  • काँचुली खबर

३ बैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको अवधिमा विभिन्न मुद्दामा एक सय २१ वर्ष कैद सजाय सुनुवाइ भएका दुई सय १६ जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाटमार्फत बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको समय अवधिमा विभिन्न मुद्दाका एक सय २१ वर्ष दुई महिना चार दिन कैद सजाय तोकिएका दुई सय १६ जना अभियुक्तलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरूबाट २३ लाख ४७ हजार ७७८ हजार रुपियाँ जरिवाना वापत् राजस्व सङ्कलन भएको उनले बताए ।

गत आर्थिक वर्षको सोही समय अवधिमा दुई सय ६८ वर्ष दुई महिना दुई दिन कैद सजाय तोकिएका एक सय ७७ जनालाई पक्राउ गरिएको र उनीहरूबाट सात लाख ४६ हजार ९८३ रुपियाँ राजस्व सङ्कलन भएको प्रनाउ डाँगीले जानकारी दिए ।

यो आर्थिक वर्षको चैत मसान्तसम्ममा एक हजार ८६ वटा विभिन्न शीर्षकमा मुद्दा दर्ता भएको र सोसँग सम्बन्धित पाँच हजार ८१ जना व्यक्तिलाई अनुसन्धानका लागि पक्राउ गरिएको उहाँले बताए । जसमध्ये कर्तव्य ज्यान, जबरजस्ती करणी, मानव बेचबिखनलगायतका जघन्य प्रकृतिका ६४ वटा मुद्दा दर्ता भएको र ५४ वटा मुद्दा फर्छ्यौट भएको छ ।

लागू औषध सम्बन्धी एक सय ३० वटा मुद्दामा संलग्न दुई सय ६ जनालाई पक्राउ गरिएको छ । सवारी दुर्घटनाका ४७ मुद्दा दर्ता भएको छ । उक्त दुर्घटनामा परी ४६ जनाको ज्यान गएको छ भने पाँच जना घाइते बनेका छन् । सवारी दुर्घटना मुद्दामा संलग्न ३७ जनालाई पक्राउ गरिएको प्रनाउ डाँगीले जनाकारी दिए ।

त्यसै गरी अवैध भन्सार छली चोरी पैठारीबाट दुई करोड २९ हजार ६० रुपियाँ राजस्व सङ्कलन गरिएको छ । उक्त कार्यमा संलग्न ३७ जनालाई पक्राउ गरिएको र ४० वटा सवारी साधन बरामद गरिएको छ । घरेलु हिंसासम्बन्धी पाँच सय ९२ मुद्दा दर्ता भएका छन् । जसमध्ये पाँच सय १९ वटा महिला पीडित र ७३ वटा पुरुष पीडितसम्बन्धी रहेको उनले जानकारी दिए ।

बैङ्किङ कसुरका दुई सय ८, ठगी तथा आपराधिक लाभका १८ र जुवाका तीन गरी आर्थिक अपराधसम्बन्धी दुई सय २९ मुद्दा दर्ता भएका छन् । साइबर अपराधसम्बन्धीको सामाजिक सञ्जाल प्रयोग गरी आर्थिक लाभ लिएको १८ वटा मुद्दा दर्ता भएकोमा पाँच वटा फर्छ्यौट भएको र १३ वटा अनुसन्धानमा रहेका छन् । सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेका ८० वटा उजुरी परेकोमा दुई वटा फर्छ्यौट गरिएको र बाँकी ७८ वटा सम्बन्धित निकायमा पठाइएको छ ।

यस वर्षको चैत मसान्तसम्ममा समुदाय प्रहरी साझेदारीमार्फत विभिन्न चार सय ३२ वटा सचेतनामूलक कार्यक्रम गरिएको र जसबाट २० हजार २६३ जना लाभान्वित भएको बाँके प्रहरीले जनाएको छ ।

सोही अवसरमा बाँके जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीसँग पनि पत्रकार परिचयात्मक कार्यक्रम गरिएको थियो ।

  • ३ बैशाख २०८१, सोमबार १५:३० प्रकाशित
  • Nabintech