२३ बैशाख २०८१, आईतवार
एसइइमा चिट चोराउने प्रिन्सिपल र शिक्षक धरौटीमा रिहा
  • काँचुली खबर

२८ चैत्र, नेपालगन्ज । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराएको आरोपमा पक्राउ परेका एक स्कूलका प्रिन्सिपल र शिक्षक धरौटीमा रिहा भएका छन् ।

विद्यार्थीलाई चिट चोराउने क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपालगन्जस्थित लोटस इंग्लिस मिडियम हाई स्कूलका प्रिन्सिपल तपनकुमार शर्मा र सोही स्कूलका पार्ट टाइम शिक्षक अल्ताब खाँलाई जिल्ला प्रशासन कार्यालयबाट मङ्गलबार जनही ६०/६० हजार रुपियाँ धरौटीमा रिहा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

गत चैत २० गते नेपालगन्जको ज्ञानोदय विद्या निकेतन परीक्षा केन्द्रमा सञ्चालन भएको विज्ञान तथा प्रविधि विषयको परीक्षामा आफ्ना स्कूलका विद्यार्थीहरुलाई चिट चोराउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो ।

उनीहरुसहित चिट चोराउने कार्यमा संलग्न ए वान क्लासेस नामक कन्सल्टेन्सीका कर्मचारी दिलिप विक र सन्तोष नेपाली, कन्सलटेन्सीका सञ्चालक ईरफान अलि मिकरानी तथा रिसेप्सेनिस्ट स्नेहा चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । रिसेप्सेनिस्ट चौधरीलाई भने सोधपुछ पश्चात सोही दिन छाडिएको थियो ।

परीक्षाको मर्यादा विपरीतका गतिविधिमा संलग्न पाँचै जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको थियो ।

जसमध्ये एक जना नाबालक भएकाले उनलाई सरकारी वकिलमार्फत् बाँके जिल्ला अदालत बाल ईजलासमा पेश गरिएको र बाँकी चार जनालाई शिक्षा ऐन बमोजिम परीक्षाको मर्यादा विपरीतको कसुर र सजायको मागदाबीसहित प्रशासनसमक्ष पेश भएकोमा प्रजिअ पोखरेलको आदेशमा प्रिन्सिपल र शिक्षक दुबै जनालाई जनही ६०/६० हजार र कन्सल्टेन्सीबाट पक्राउ परेका दुई जनालाई जनही ३०/३० हजार रुपियाँ धरौटीमा रिहा गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

हाललाई चार जनालाई नै धरौटीमा छाडने निर्णय भएको र थप प्रमाण बुझी फैसला भने पछि नै हुने प्रजिअ पोखरेलले जानकारी दिए ।

पक्राउ परेकाहरुले ह्वाट्स एप ग्रुप बनाई मोबाइलमार्फत् विद्यार्थीहरुलाई प्रश्नको उत्तर लेखी पठाउने गरेको पाइएको थियो । प्रहरीले उनीहरुबाट पाँच थान मोबाइल, एक थान ल्यापटप, केही थान गाईड तथा सोलुसन बुक, प्रश्न उत्तर लेखिएको कागजपत्र, विभिन्न व्यक्तिहरुको सम्पर्क नम्बर लेखिएको कागजसमेत बरामद गरि अनुसन्धान सुरु गरेको थियो ।

गाेरखापत्रबाट

  • २८ चैत्र २०८०, बुधबार १०:०९ प्रकाशित
  • Nabintech