२१ बैशाख २०८१, शुक्रबार
बारीमा तरकारी, घरमै रोजगारी
  • काँचुली खबर

२४ चैत्र, राँझा (बाँके)। बाँकेको राप्ती सोनारी गाउँपालिका-५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारुको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो ।

टेकराजका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न नेपालगन्जमा भौँतारिरहेका छन् । उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन् । “मेरो जागिर भने पनि रोजगारी भने पनि यही तरकारी खेती हो । बिहानदेखि साँझसम्म यहीँ काम गर्छु”, आफूले गरेको तरकारी खेती देखाउँदै टेकराजले भने, “आफ्नो घरमा बसेर तरकारी खेती गर्दै आएको छु, कुनै सिजनमा सोचेभन्दा राम्रो आम्दानी हुन्छ, कहिले अलि थोरै हुन्छ ।”

टेकराजले आफूसँगै घरपरिवारका सदस्यहरूलाई पनि तरकारी खेतीको काममा लगाउने गरेका छन । तरकारी खेतीबाटै जीवन निर्वाह गर्दै आएका उनले वार्षिक करिब १० देखि १२ लाखसम्म कमाई गर्ने गरेको बताए । व्यावसायिक तरकारी खेतीमा दैनिक श्रम गर्ने उनलाई आफ्नै खेतबारीमै विदेशमा पाइनेभन्दा उत्तम रोजगारी मिलेको अनुभूति हुन्छ । विगतमा उनीले निर्वाहमुखी खेती गर्दै आएपनि पछिल्लो एक दशकदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन ।

बाह्रैमास उनको खेतबारी हराभरा देखिन्छ । मौसमी र बेमौसमी तरकारी खेती गर्ने उनको दैनिकी पनि निकै व्यस्त हुन्छ । “परिवारसँगै हाँसीखेली काम गर्न पाइएको छ, परिवारमा दुःख पर्दा सहयोग हुन्छ”, टेकराजले भने, “कोही बिरामी पर्दा विदेशबाट भनेकै बेला सहयोग गर्न घर आउँछु भन्न पाइँदैन, सबै परिवार घरमा हुँदा एकअर्काका लागि पनि निकै सहयोग पुगेको छ ।”

अहिले उनको खेतबारीमा काँक्रा, गोलभेँडा, फर्सी, खुर्सानीलगायत तरकारी बिक्री गर्ने अवस्थामा छन् भने घिरौँला, तोराय, लौका, तर्भुजलगायत तरकारी तयार हुँदै गएका छन् ।

रोजगारीको खोजीमा युवा जनशक्ति विदेश पलायन बढ्दो छ । स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै विदेश पस्ने युवाका लागि टेकराज प्रेरणाको स्रोत बनेका छन । उत्पादित कृषि उपज घरबाटै बिक्री हुने गरेको उनले बताए । “मेहेनत र काम गर्ने इच्छा शक्ति हुने हो भने पैसा कमाउन विदेश नै जानुपर्दैन । यहाँ पनि सम्भावना छन् । मेहेनत गर्न सके बाँझो रहेको जग्गाबाटै लाखौँ आम्दानी गर्न सकिन्छ”, टेकराजले भने, “धनआर्जनका लागि सरकारी जागिर खानैपर्छ वा विदेश पुग्नुपर्छ भन्ने सोच मसँग छैन ।”

बारीमा तरकारी रोपेर पनि स्वरोजगार बन्न सकिने भन्दै उनले यसमा सरकारले प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिए । विगतमा गहुँ, मकै लगाउने जग्गामा टेकराजले अहिले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन । परिवारका लागि मुख्य आयस्रोत भनेकै तरकारी खेती हो ।

“विदेश बसेर भन्दा घरमा बसेर तरकारी खेती गर्दा आनन्द छ । परिवारसँग बस्न पाइएको छ, खान पाइएको छ, मेहेनत गरे घरमै बसेर तरकारी खेतीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ”, टेकराजले भने, “विदेशमा पसिना बगाएर कमाएको पैसा घरखर्च मै सकिने हुन्छ, तरकारी खेती गरेर वर्षमा लाख रुपियाँ बचत हुँदा किन विदेश गएर पैसा कमाउने सपना देख्ने ? विदेशमा पनि रुखमा पैसा फल्ने होइन, जहाँ गरिनि दुःख गर्नैपर्ने हो ।”

टेकराजको तरकारी खेती देखेर अहिले ललही गाउँका अन्य किसान पनि व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । रोजगारीका लागि विदेश नै पुग्नुपर्छ भन्ने मानसिकता युवा पुस्ताले हटाउनुपर्ने अर्का कृषक मधु थारुले बताए । राप्ती सोनारी गाउँपालिकाले किसानलाई बगरखेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम ल्याएको छ । बगरखेती गर्ने किसानलाई पाँच लाखसम्मको अनुदान दिने कार्यक्रम रहेको गाउँपालिका कृषि शाखा प्रमुख चन्दाकुमारी शाहीले जानकारी दिए ।

उनका अनुसार यो वर्ष राप्ती सोनारी-५ बिनौनास्थित ललही टेकराज थारुको बगरखेती समूह र वडा नम्बर १ का बगरखेती कृषक मानबहादुर रानामगरलाई पाँच लाख बराबरको अनुदानको सम्झौता गरिएको छ । बगरखेतीतर्फ किसानलाई आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । उनले बगरखेती किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणका लागिसमेत गाउँपालिकाले आवश्यक पहल गर्ने उल्लेख गरे । रासस

  • २४ चैत्र २०८०, शनिबार १४:०५ प्रकाशित
  • Nabintech