१५ बैशाख २०८१, शनिबार
जिल्लाको २२ हजार हेक्टर जमिनमा सिक्टाको सिंचाइ
  • काँचुली खबर

४ चैत, बाँके (रासस) । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टाबाट बाँकेको २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको छ ।

४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिंचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२/६३ मा आयोजना निर्माण सुरू भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म पश्चिमी मूल नहरतर्फ १७ हजार हेक्टर, सिधनिया शाखामा १ हजार हेक्टर र पूर्वी मूल नहरतर्फ ४ हजार हेक्टर गरी २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी सन्देश पौडेलले जानकारी दिए ।

आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँकेको राप्ती नदी पश्चिम भेगको ३३ हजार ७ सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्व भेगको करिब ९ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । सूचना अधिकारी पौडेलले भने, ‘आयोजना सुरू भएदेखि हालसम्म भौतिक प्रगति ४०.२२ प्रतिशत र वित्तीय प्रगति ३९.३८ प्रतिशत रहेको छ ।’

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आयोजनाले पुँजीगततर्फ विनियोजित बजेटको ४०।१० प्रतिशत वित्तीय प्रगति गरेको छ । विनियोजित ७५ करोड ४८ लाखमध्ये फागुन मसान्तसम्म ३० करोड २६ लाख ३२ हजार रुपैयाँ खर्च भएको पौडेलले बताए । ‘चालु आवमा आयोजनाको पूर्वी मूल नहरको बाँकी काम गर्न ठेक्का व्यवस्थापनका लागि तयारी हुँदैछ,’ सूचना अधिकारी पौडेलले भने, ‘पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरुवा र गोहवा शाखाको ठेक्का सम्झौता भइ निर्माण सुरू गर्ने तयारी भएको छ ।’

गुरुवागाउँ शाखाअन्तर्गत नहर निर्माण, जग्गा अधिग्रहणसम्बन्धी काम र अन्य शाखाको ठेक्का व्यवस्थापनलगायत तयारीको काम पनि चालु आवभित्रै सुरू हुने आयोजना कार्यालयले जनाएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका-२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी जिल्लाको खेतीयोग्य जमिनमा सिंचाइ सुविधा पुर्‍याउन आयोजना निर्माण गरिएको आयोजनाका निर्देशक देवराज निरौलाले बताए । आव २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको लागत ५२ अर्ब ८९ करोड रहेको छ ।

  • ४ चैत्र २०८०, आईतवार १३:५१ प्रकाशित
  • Nabintech