१६ चैत्र २०८०, शुक्रबार
दृष्टिविहीन परिवारलाई नगर प्रमुखद्वारा घर हस्तान्तरण
  • काँचुली खबर

कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको दुई कोठे घर दृष्टिविहीन परिवारलाई हस्तान्तरण गरिएको छ । मंगलबार कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले कोहलपुर-११ लोकनगर बस्ने दृष्टिविहीन हिरकला बि.क.लाई घरको तालाचाँपी सहित घर हस्तान्तरण गरेका हुन ।
नगरपालिकाको रु. १ लाख ६५ हजार आर्थिक सहयोगमा इँटा र सिमेन्ट जोडाईको वाल तथा रंगिन जस्तापाताको छानो रहेको दुई कोठा भएको घर हस्तान्तरण गर्दै नगर प्रमुखले राम्रो सरसम्भार गरी बस्न अनुरोध गरे । साथै प्रमुख रावतले चर्पी नभएकाले वडा नं. ११ का वडा अध्यक्ष र वडा सचिवलाई चर्पी बनाइदिने व्यवस्था गर्न समेत आग्रह गरे ।
रावतले भने , ‘दृष्टिविहीन व्यक्ति अत्यन्तै सम्वेदनसिल व्यक्ति हुने भएकाले राज्यले उनीहरुलाई सहयोग गर्नु संविधान प्रदत्त अधिकार समेत हो । कोहलपुर नगरपालिकाले समाजमा रहेका यस्ता असहाय व्यक्तिहरुलाई सधै सहयोग गर्दै आइरहेको र सहयोग गर्दै जाने पनि छ ।’


घर हस्तान्तरण कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा, वडा सचिव मणिराम रिमाल सहित वडाका सदस्यहरु र कर्मचारीहरु, कार्यपालिका सदस्य नारायणी वली, नगरपालिकाका प्रशासन प्रमुख हरि बहादुर वली, वडा नं. १ र वडा नं. १२ का वडा अध्यक्ष तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
दृष्टिविहीन हिरकलासँग एक छोरी साथमा छिन र उनी पनि दृष्टिविहीन नै छिन् । बि.क.का श्रीमान माओवादी सशस्त्र द्वन्द्वका समयमा माओवादीमा लागेका र बेपत्ता भएका हुन् । हाल सम्म श्रीमानको कुनै ठेगान छैन भने राज्यबाट बेपत्ता पारिएको सूचीमा नाम परेको भए पनि हिरकलाले अहिले सम्म कुनै राहत नपाएको बताइन् ।

  • ८ श्रावण २०७५, मंगलवार ११:५६ प्रकाशित
  • Nabintech