१५ बैशाख २०८१, शनिबार
कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु
  • काँचुली खबर

१ चैत, काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन् ।

नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि उनले बताए ।

नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल ठकुरीका अनुसार हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछाने मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए । त्यही बेला तीनै जनालाई कारले ठक्कर दिंदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुको शव पोष्ट मार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ ।

अरब टाइम्सले भने महाबुल्ला क्षेत्रको सडक दुर्घटनामा दुई जना नेपाली नागरिक र अर्का एक अपरिचित व्यक्तिको मृत्यु भएको जनाएको छ । एउटा शवको सुरुमा पहिचान नखुले पनि पछि कम्पनीसँग सम्पर्क गर्दा उनी पनि नेपाली नै रहेको पुष्टि भएको हो ।

  • १ चैत्र २०८०, बिहीबार ११:०१ प्रकाशित
  • Nabintech