१६ बैशाख २०८१, आईतवार
अब विद्यार्थीले किताब बोक्न पर्दैन : आले

'माविसम्मै बुकलेस तथा विद्यार्थी केन्द्रित शिक्षण विधि लागु गर्ने योजना'

  • काँचुली खबर

२८ फागुन, कोहलपुर । सिकाइ उपलब्धि बृद्धिका लागि गोरखा स्कुलले विद्यार्थी केन्द्रित शिक्षण विधिलाई जोड दिदै आएको छ । जिल्लामै अब्बल मानिएको गोरखा युनाईटेड पब्लिक स्कुलले “गरेर सिक्ने” शिक्षण विधिलाई प्राथमिकताका साथ लागु गर्ने निति लिएको छ ।

युग सुहाउदो शिक्षण सिकाईमा जोड दिदैं आएको गोरखाले कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुलाई शैक्षिक सामग्रीको प्रदर्शनी र बालमैत्री शिक्षण विधि अपनाएर पढाउँदै आएको विद्यालयका संस्थापक तथा सञ्चालक केशर बहादुर आले मगरले जानकारी दिए । उनका अनुसार १ देखी ३ कक्षासम्मका बालबालिकाहरुकालागी विद्यालयमा ‘बुक लेस’ तथा ‘होमवर्क लेस’ शिक्षण विधि लागु गरीएको छ । यस विधि अन्तर्गत बालबालिकाहरुले किताव बोक्न नपर्ने तथा स्वतन्त्र तरिकाले विभिन्न शैक्षिक सामग्री हेरेर खेल्दै सिकाई प्रक्रियामा सामेल हुन सक्नेछन ।

सामान्यतया शिक्षक-शिक्षिकाले भन्ने र विद्यार्थीले सुन्ने शिक्षण विधि प्रचलनमा रहेको पाईन्छ । तर उक्त विधिलाई परिमार्जन गर्दै गोरखाले खेल्दै सिक्ने निति अवलम्वन गरेको आलेले बताए । कक्षाकोठाभित्र टाँगिएका शैक्षिक सामग्री हेर्दै पढ्ने र सिक्ने तरिका अपनाइएको आलेको भनाई छ ।

“बालबालीकाहरु शुरु शुरुमा स्कुलमा आउदा यहाँको वातावरणमा घुलमिल हुन समेत नसकीरहेको अवस्थामा परम्परागत तरिकाले सिकाउदा उनीहरुको सिकाईमा पर्ने असरलाई मध्यनजर गर्दै आधुनिक र बैज्ञानिक शिक्षामा जोड दिएका छौं” विद्यालयका संस्थापक आलेले भने, “खेल्दै सिक्दैका अलावा उनीहरुलाई आफैले सिर्जना गरेका अभ्यासका प्रतिहरुलाई पावर प्वाईन्टमार्फत प्रस्तुति समेत गर्न लगाउने र उस्तै प्रकृतिका शिक्षण पाठहरुलाई टिभि मार्फत देखाउने गरेका छौं ।”

अब विद्यार्थीले किताब बोक्न पर्दैन : आले मगर

गोरखा स्कुल संस्थापक तथा संचालक आलेले अबको पुस्ताले किताब बोकेर विद्यालय जान नपर्ने बताए । प्रारम्भीक चरणमा १ देखी ३ कक्षासम्म बुकलेस निति लिएको गोरखाले आगामी शैक्षिक शत्रदेखी ९ र १० कक्षामा समेत बुकलेस शिक्षण विधि लागु गर्ने तयारी गरेको आलेले जानकारी दिए ।

विद्यालयले पञ्च वर्षिय योजना बनाएर अगाडी बढेको बताउँदै आलेले गोरखा स्कुललाई पूर्ण रुपमा बुकलेस र होमवर्क लेस विद्यालयका रुपमा स्थापित गरीने बताए ।

कक्षाहरुमा संख्यात्मक रुपमा विद्यार्थीहरु घटाउदै लगेको गोरखाले किताब भन्दा बाहिरी कुराहरुलाई जोड दिएर होमवर्क दिने तयारी गरेको भन्दै आलेले अब बालबालीकाहरुलाई ल्यापटपमै होमवर्क दिएर प्रविधिको समेत भरपुर प्रयोग गर्ने योजना रहेको बताए ।

“अभिभावकहरुबाट बच्चाले मोवाईल, ल्यापटप हेरेको भनेर गुनासो आईरहेको सन्दर्भमा हामी मोबाईल, ल्यापटपबाटै होमवर्क गर्ने गरी शिक्षण विधि तयार गर्दैछौं” आलेले भने, “शिक्षण विधिमा प्रविधिको उच्चतम प्रयोग गर्ने तर वालवालिकाहरु फ्रि फायर, पब्जी जस्ता अनावश्यक गतिविधिमा संलग्न नहुने कुराको सुनिश्चितता सहितको योजना अघि सारेका छौं ।”

ठुलो लगानिका साथ विद्यालयमा बाल सिकाईका कार्यक्रमहरु लागु गरिएको भन्दै सञ्चालक आलेले २ दशक बढि शिक्षा क्षेत्रमा लागेर शैक्षिक परिवर्तनमा नयाँ आयाम थप्ने आफ्नो हुटहुटि जिवन्त रहेको बताए ।

समाजमा निजि तथा सरकारी विद्यालयलाई हेर्ने दृष्टिकोण आफुले परिवर्तन गर्न चाहेको उल्लेख गर्दै आलेले निजिमा भएको स्रोत साधनको प्रयोग सरकारी विद्यालयले गर्ने गरी शैक्षिक अवलोकन भ्रमणको ब्यवस्था हुनुपर्ने भन्दै सरकारी विद्यालयका तालिम प्राप्त शिक्षकहरुलाई निजि विद्यालयमा समेत अनुभव आदान प्रदान गर्ने गरी ब्यवस्थापन गर्नुपर्ने धारणा राखे ।

आफुले सरकारी विद्यालयको समेत शिक्षण सिकाईमा परिवर्तन चाहेर निजि विद्यालयहरुले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने धारणा राख्दा समाजमा गलत सन्देश फैलाउन उद्धत शिक्षाप्रेमिहरु देखेर आफु अवाक भएको भन्दै आलेले समाजलाई सकारात्मक दिशातर्फ लैजान सरकारी, निजि तथा गुठी मार्फत संचालित विद्यालयबिच आपसी समन्वय सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

बालवालिकाले आफ्नो किताब आफै तयार पार्छन : गिरी

गोरखा स्कुलका एजुकेशनल कन्सल्टेन्ट ढुन्डिराज गिरीले वालवालिकाहरुलाई ‘खेल्दै र सिक्दै’ गर्ने अभ्यासको थालनी गरिएको बताए ।

परम्परागत शिक्षामा शिक्षकले बोल्ने विद्यार्थीले सुन्ने प्रचलनलाई चिर्दै अब बालबालिकाले गर्ने क्रियाकलापलाई शिक्षकले हेर्ने, बालबालिकाले क्रियाकलाप गर्न सक्ने गरी शिक्षण सिकाईलाई बिकसीत गर्दै लगिएको बताउदै गिरीले कक्षा कोठामा हरेक बालबालिकाहरुको क्याविन रहेको र हरेक दिनको क्रियाकलापहरु संकलन गरी मासिक रुपमा किताब तयार पार्ने गरिएको बताए ।

“बालबालिकाहरुले आफ्नो किताब आफै तयार पारेर आफ्ना अभिभावकलाई समेत देखाउने गरेका छन” गिरीले भने, “खेल्दै मनोरञ्जन गर्दै सिक्ने शिक्षण बिधिले बालबालिकाहरुले चाँडो सिक्ने मात्र नभई उनीहरुले सिकेका कुरा समेत नभुल्ने र आत्मविश्वासमा समेत बृद्धि भएको हामीले पाएका छौं ।”

बालबालिकाहरुलाई हप्काएर, पिटेर, घोकाएर मात्र पढाउन सकिन्छ भन्ने सोच भत्काउँदै बालबालीकाहरुले भयरहित वातावरणमा खेल्दै सिक्ने र त्यसलाई आफ्नो तरीकाले प्रस्तुत गर्ने विधिका रुपमा खेल्दै सिक्दै अभ्यासको सुरुवात गरीएको गिरीले बताए । बालबालीकाहरुले सिक्ने विधि र उनीहरुले सिकेका विषयवस्तुहरुको संगालो सहितको प्रस्तुती हरेक वर्ष विद्यालयमा प्रर्दशन गरीने बताउँदै गरीले गत शनिबार विद्यालयमा प्राङ्गणमा आफ्ना उक्त विधि प्रदर्शन गरीएको जानकारी दिए ।

  • २८ फाल्गुन २०८०, सोमबार १७:४८ प्रकाशित
  • Nabintech