१६ बैशाख २०८१, आईतवार
९१ वर्षीय प्रेमलाल बने उत्कृष्ट विद्यार्थी
  • काँचुली खबर

१९ फागुन, दाङ । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने भनाइलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का प्रेमलाल डाँगीले सत्य साबित गरेका छन । फागुन १८ गते शुक्रबारका दिन विद्यालयको ६३ औँ वार्षिकोत्सवका अवसरमा अनुशासित र उत्कृष्ट विद्यार्थीकारुपमा डाँगी सम्मानित भएका छन ।

उमेरले नौ दशक पार गरिसकेका प्रेम २०८० साल वैशाखमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालय भ्यूडहर सोनपुरमा कक्षा एकमा भर्ना भई नियमितरुपमा कक्षामा पढ्न लेख्न आउँछन । उनी अन्य विद्यार्थीजस्तै गुरु गुरुआमालाई गृहकार्य समेत बुझाउँछन ।

विद्यालयमा प्रधानाध्यापक टोपबहादुर घर्तीले डाँगी नियमित कक्षामा आउने र पढ्न लेख्न निकै रुचि राख्ने गरेको बताए । घर्तीले डाँगी नौ दशक पूरा गरेर पनि समाजमा प्रेरणाको स्रोतका रुपमा विद्यालयमा आउनु विद्यालयको गौरवको कुरा भएको बताए ।

“लठ्टीको सहारामा नियमित विद्यालयमा आउनुहुन्छ । उहाँका कोही साथी रुन्छन् त कोही रमाउँछन् त कोही उहाँसँगै पढ्छन्, खेल्छन् । ती साथीहरूसँगै डाँगीले कुनै झर्कोफर्को नमानी पढ्नुहुन्छ ।” घर्तीले भने ।

डाँगीलाई सम्मान गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले शिक्षा आर्जन गर्ने कुरालाई उमेरका कारण लाज धक मान्ने कुरालाई प्रेमलालले अन्त्य गरेको बताए । उनले समाजमा डाँगी जस्तै विगतमा विद्यालय र सामाजिक अवस्थाका कारण पढ्न नपाउने कुराबाट वञ्चित भएका सबैले शिक्षालयमा पुगी अध्ययन गर्न सकिने बताए ।

शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले शिक्षण सिकाई कहिल्यै पूरा हुँदैन भन्ने यर्थाथलाई समाजमा बुझाउन सकिने बताए ।

-गोरखापत्रबाट

  • १९ फाल्गुन २०८०, शनिबार १५:२० प्रकाशित
  • Nabintech