१६ बैशाख २०८१, आईतवार
बाँकेका बाल सुधारगृहलाई विभिन्न सामग्री हस्तान्तरण
  • काँचुली खबर

१६ फागुन, नेपालगन्ज । बाँके जिल्लाको डुडुवा र नौबस्तामा रहेका दुईवटा बाल सुधारगृहमा रहेका बालविज्याईकर्ता (बालबन्दी) हरुको सुधारमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।

केन्द्रीय बाल न्यायिक समितिको सचिवालयद्वारा डुडुवामा रहेको जयन्दु बालसुधार गृह र बैजनाथको नौबस्तामा रहेको बालसुधार गृहमा विभिन्न खेलकुदका सामग्री, कम्प्युटर, ल्यापटप, टेलिभिजन, कुलरलगायतका उपकरण हस्तान्तरण गरिएको हो ।

ती सामग्रीहरु सर्वोच्च अदालतका रजिष्ट्रार तथा केन्द्रीय बाल न्यायिक समितिका सदस्य सचिव नारायणप्रसाद पन्थी, केन्द्रीय बाल न्याय समितिको सचिवालयका उपसचिव अनुपमा पन्त, जिल्ला अदालत बाँकेका न्यायाधीश बालकृष्ण वाग्ले र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले हस्तान्तरण गरे ।

जयन्दु बालसुधार गृहको तर्फबाट प्रमुख बिमला काउचा र नौबस्ता बालसुधार गृहको तर्फबाट त्यहाँका प्रमुख श्याम रानाले सामग्री बुझाए । दुबै ठाउँमा आयोजना गरिएका छुट्टाछुट्टै कार्यक्रममा बोल्ने अधिकांश वक्ताले बाल सुधारगृहको मोडेल र केही ऐन कानुनमा समेत परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

सर्वोच्च अदालतका रजिष्ट्रार तथा केन्द्रीय बाल न्यायिक समितिका सदस्य सचिव नारायणप्रसाद पन्थीले बाल सुधार गृहहरुलाई कारागारभन्दा पनि होस्टेलको मोडेलमा सञ्चालन गर्नुपर्ने देखिएको जनाउँदै त्यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।

ती दुबै कार्यक्रममा केन्द्रीय बाल न्याय समितिको सचिवालयका उपसचिव अनुपमा पन्त, बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेल, युनिसेफका बाल संरक्षण प्रमुख डेन रोनो, जिल्ला अदालत बाँकेका न्यायाधिस बालकृष्ण वाग्ले, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारी लगायतले बाल सुधारगृहको अवस्था र त्यसमा गर्नुपर्ने केही परिवर्तनका बारेमा आआफ्नो धारणा राखेका थिए ।

सो अवसरमा जयन्दु बाल सुधारगृहका तर्फबाट प्रमुख विमला काउचा र नौबस्ता बाल सुधारगृहका तर्फबाट त्यहाँका प्रमुख श्याम रानाले बाल सुधारगृहका बारेमा विस्तृत जानकारी गराएका थिए ।

डुडुवाको बाल सुधारगृहमा २३२ जना र नौबस्ताको बालख सुधारगृहमा १०३ जना बालकलाई राखिएको सो अवसरमा जनाइएको थियो ।
गोरखापत्रबाट

  • १६ फाल्गुन २०८०, बुधबार १५:२२ प्रकाशित
  • Nabintech