१५ बैशाख २०८१, शनिबार
नेदरल्यान्ड्समाथि नेपालको सानदार जित
  • काँचुली खबर

५ फागुन, काठमाण्डौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ ।

टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १६ औं ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर अनिल शाह र आसिफ शेखले अर्धशतक पूरा गर्दा कुशल भुर्तेलले आक्रामक सुरुवात दिलाएर आउट भएका थिए ।

आसिफले ४५ बलमा ८ चौका र १ छक्कासहित नटआउट ५४ रन जोडे । अनिल ३६ बलमा ६ चौका र ४ छक्कासहित ५७ रनमा नटआउट रहे । यी दुईले दोस्रो विकेटका लागि नटआउट १ सय ५ रनको साझेदारी पनि बुने ।

दोस्रो ओभरमै कुशलले आर्यन दत्तलाई २ छक्का र एक चौका प्रहार गर्दै आक्रामक सुरुवात दिलाए । तेस्रो ओभरमा किंगमाविरुद्ध पनि भुर्तेलले १ चौका र १ छक्का प्रहार गरे । त्यसपछि पाँचौ बलमा ठूलो सट खेल्ने प्रयासमा कुशल क्याच आउट भए । उनले ११ बलमा २८ रन जोडे ।

आसिफ शेख १९ रनमा रहँदा जीवनदान पाए । किंगमाको बलमा क्रोसले सर्ट फाइन लेगमा क्याच ड्रप गरेका थिए । त्यसपछि अनिल र आसिफले लगातार आक्रामक इनिङ खेल्दै जितसम्म डोर्याए ।

त्यसअघि नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र जोड्न सक्यो । टस जितेपछि फिल्ड गर्ने निर्णय लिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ गर्दै नेदरल्यान्ड्सलाई सुरुवातदेखि दबाबमा राखेको थियो । नेपालले गरेको बलिङ परिवर्तन लगातार सफल हुँदा नेदरल्यान्ड्सले साझेदारी बुन्न संघर्ष गर्यो ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे । ४९ बलमा १ चौका प्रहार गर्दै संयमित इनिङ खेलेका उनी नवौं विकेटको रुपमा कुशल भुर्तेलको एलबीडब्लु धरापमा परे । कुशलले मध्यक्रम ध्वस्त पार्दै कुल ४ विकेट लिए ।

तीव्र गतिका बलर सोमपाल कामीले इनिङको पहिलो ओभरमै डेब्यु गरिरहेका माइकल लेभिटलाई शून्यमा आउट गरे । तेस्रो बलमा लेभिटको प्रहार देव खनालले थर्ड म्यानमा क्याच गरेका थिए ।

छैटौं ओभरमा म्याक्स ओ डाउड रनआउट भएपछि नेदरल्यान्ड्स १८/२ को स्थितिमा पुग्यो । उनले २१ बलमा १ छक्कासहित १० रन जोडे ।

त्यसपछि बास डे लिडे र साइब्रान्ड एंगलब्रेक्टले साझेदारी गर्दै टोलीलाई केहि सम्हाले । ललितले १६ औं ओभरमा एंगलब्रेक्टलाई स्लिपमा क्याच गराएर सफलता दिलाए । उनले ३५ बलमा २३ रन जोडे । २० औं ओभरमा ललितले बासलाई बोल्ड गर्दा नेदरल्यान्ड्स ६७/४ को अवस्थामा पुग्यो ।

२६ औं ओभरमा स्कट एडवार्ड्सको प्रहार कुशल मल्लको हातमा लाग्दै नन स्ट्राइकतर्फ स्टम्पमा लाग्दा नोआ क्रोस रनआउट भए । लगत्तै अर्को ओभरमा कुशल भुर्तेलले वेस्ली बरेसीलाई क्याच आउट गराएपछि नेदरल्यान्ड्स ९९/६ को अवस्थामा पुग्यो ।

लगत्तै अर्को ओभरमा रोहित पौडेलले आफ्नो पहिलो ओभरमा शरिज अहमदलाई १ रनमा बोल्ड गरे । आर्यन दत्त १० रन जोड्दै कुशल भुर्तेलको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । ड्रिंक्सलगत्तै ३५ औं ओभरमा स्कट एडवार्ड्स पेभेलियन फर्किए । भुर्तेलले नै किंगमालाई २ रनमा कट बिहाइन्ड गरेपछि नेदरल्यान्ड्स अलआउट भयो ।

नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामीले १-१ विकेट लिए । नेदरल्यान्ड्सका दुई ब्याटर रनआउट भएका थिए ।

  • ५ फाल्गुन २०८०, शनिबार १३:५३ प्रकाशित
  • Nabintech