८ बैशाख २०८१, शनिबार
सेभ द चिल्ड्रेनद्धारा बाँकेमा सञ्चालित विभिन्न कार्यक्रमहरुको संयुक्त समिक्षा
  • काँचुली खबर

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके जिल्लाका ७ वटा गैर सरकारी संघसंस्थाहरुद्धारा जिल्लामा सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरुको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

सो अवसरमा बाँके युनेस्को क्लब, सामाजिक विकास मञ्च, ब्याकवर्ड सोसाइटी एजुकेशन बेस, टीबी नेपाल, चेन्ज टीम, जुनकिरि महिला समाज र ब्लु डायमण्ड सोसाइटीद्धारा सेभ द चिल्ड्रेनको सहयोगमा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका कार्यक्रमहरुको विभिन्न सरोकारवालाहरुको उपस्थितिमा गहिरिएर बिस्तृत समिक्षा गरियो ।

गत ६ महिनाको अवधीमा सम्पन्न भएका कार्यक्रम र त्यसबाट प्राप्त भएका उपलब्धीहरु बारे बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत राम श्रेष्ठ, ब्याकवर्ड सोसाइटी एजुकेशन बेसका आशाराम चौधरी, टीबी नेपालका हिक्मत बहादुर बुढा, चेन्ज टीमका ईन्द्रा कुमारी जिसी र जुनकिरि महिला समाजका रविन्द्र सिंह राठौरले जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागि सरोकारवाला निकायका प्रतिनधिहरुले सोही जानकारीकै आधारमा विभिन्न जिज्ञासाहरु राख्दै सुझावहरु समेत दिएका थिए । सो अवसरमा सेभ द चिल्ड्रेनका दिपेन्द्र सिंह ठकुरीले सेभ द चिल्ड्रेनले बाँके जिल्लामा सञ्चालन गरेका कार्यक्रमहरुको जानकारी गराएका थिए ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय बहादुर श्रीवास्तवले दातृ निकायको सहयोगमा बाँकेका विभिन्न संघसंस्थाहरुले उल्लेखनीय काम गरेको जनाउँदै तर अझै पनि धेरै कुराहरुमा सुधार ल्याउनु पर्ने आवश्यकता औल्याए । उनले स्थानीय सरकारहरुको उदेश्य र लक्ष्य पुरा गर्न गराउन गैर सरकारी संघसंस्थाको भूमिका महत्वपूर्ण हुने बताए ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले राप्तीसोनारी गाउँपालिका बाढी र अन्य विभिन्न समस्याबाट सधैं झै पिडित हुँदै आएको जनाउँदै त्यहाँका बासिन्दालाई सधैंका लागि त्यस्तो पिडाबाट मुक्त गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले ७ वटा संस्थालाई एकै ठाउँमा राखेर सानो समयमा गरिएको समिक्षाले वास्तवमा कार्यक्रमको सही समिक्षा हुन नसक्ने ठोकुवा गर्दै छुट्टा-छुट्टै संस्थाको अलग अलग समिक्षा गर्नु पर्ने सुझाव दिए ।

सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक कालु सिंह कार्कीले सरोकारवाला निकायको सुझाव र सल्लाहलाई सधैं सम्मान गर्नुका साथै कार्यान्वयन समेत गरिएकोले यस पटक पनि त्यसमा बिशेष ध्यान दिइने बताए ।

सो अवसरमा गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष सपना भट्टराई, जिल्ला बाल क्लब संजाल बाँकेका अध्यक्ष मेनुका रावत, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र अर्याल, शिक्षा समन्वय विकास ईकाइका खगेन्द्र बहादुर मल्ल, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका बसन्त गैरे, नेपालगन्ज उद्योग बाणिज्य संघका कार्यालय प्रमुख अजय सिंह सिजापति, बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान लगायतले कार्यक्रमहरुबाट हासिल भएका प्रगतिहरुको चर्चा गरेका थिए ।

उक्त अर्धबार्षिक समिक्षा कार्यक्रममा जिल्लाका विभिन्न सरकारी, गैर सरकारी र निजि संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

  • ७ श्रावण २०७५, सोमबार २०:५२ प्रकाशित
  • Nabintech