१५ बैशाख २०८१, शनिबार
बर्दियादेखी तारेख खेप्न साईकलमा काठमाण्डौं पुग्ने शालिकरामको मुद्दा दोहोर्‍याउन अनुमति
  • काँचुली खबर

४ फागुन, काठमाण्डौं । तारेख खेप्न बर्दियादेखि काठमाडौं आउजाउ गर्ने शालिकराम अहिरको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्च अदालतले निस्सा (अनुमति) दिएको छ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अहिरको मुद्दा दोहोर्‍याएर हेर्ने अनुमति दिएको हो। तल्लो अदालतमा अन्तिम फैसला भएर बसेको मुद्दा फेरि ब्युँताएर हेर्न माग सहित परेको निवेदनलाई कानूनी भाषामा ‘दोहोर्‍याई पाऊँ’ निवेदन भनिन्छ।

सँधियार तिलकराम अहिर र तीर्थराम अहिरले आफ्नो साढे तीन कट्ठाभन्दा बढी जग्गा मिचेपछि शालिकरामले २०७९ कात्तिक २१ गते नापी कार्यालय, बर्दियामा पुरानो नक्शा अनुसार आफ्नो जग्गा कायम गरिदिन निवेदन दिएका थिए। नापी कार्यालयले निवेदनको सुनुवाइ नगरेको भन्दै उनले उच्च अदालत, तुलसीपुरको नेपालगन्ज इजलासमा रिट हालेका थिए।

उच्च अदालतले २०७९ चैतमा रिट खारेज गरिदिएको थियो। न्यायाधीशद्वय केशवप्रसाद जोशी र पुरुषोत्तमप्रसाद ढकालको इजलासले शालिकरामको निवेदन नापी कार्यालयमा दर्ता भएर कारबाहीको प्रक्रियामै रहेको देखिएको भन्दै रिट बदर गरिदिएको हो।

रिट खारेज भएपछि शालिकराम दोहोर्‍याएर मुद्दा हेरिपाऊँ भन्ने माग सहित सर्वोच्च अदालत आएका हुन्। सर्वोच्चले दोहोर्‍याएर हेर्ने अनुमति दिएसँगै उच्च अदालतको फैसला मिलेरनमिलेको परीक्षण अब सर्वोच्च अदालतबाट हुनेछ। सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार दोहोर्‍याउने अनुमति पाएपछि अब मुद्दा दर्ता भएर सुनुवाइको प्रक्रियामा जान्छ।

२०५२ सालमा नापी कार्यालयले नयाँ नापजाँच गर्दा आफ्नो जग्गाको स्वरूप बदलिएपछि सँधियारले जग्गा हडपेको आरोप शालिकरामको छ। २०७९ असारमा तिलकराम र तीर्थरामले खनजोत गर्न थालेपछि मात्रै आफूले जग्गा मिचिएको थाहा पाएको शालिकराम बताउँछन्।

उनीहरूले साँधको आली भत्काएर जोतेपछि सोधीखोजी गर्दा आफ्नो नम्बरी जग्गा अर्कैको नाममा पुगिसकेको चाल पाएको शालिकरामको भनाइ छ। “२०५२ सालदेखि मेरो नक्शा बिग्रिएको रहेछ,” उनले भने, “उनीहरूले मेरो जग्गा जोत्न थालेपछि मात्र थाहा पाएको हुँ। बिग्रिएको नक्शा सुधारेर आफ्नो जग्गा पाउनुपर्‍यो भन्ने मेरो कुरा हो। २०२२र२३ सालदेखि तिरो तिर्दै आएको छु। आज आएर अर्कैले खाइदियो।”

उच्च अदालतले रिट बदर गरिदिएको ६ महीनासम्म पनि नापी कार्यालयमा परेको निवेदनबारे कुनै निर्णय नभएपछि उनी गत असोजमा सर्वोच्च अदालत आएका हुन्। शालिकराम न्याय खोज्दै बर्दियाको बाँसगढी नगरपालिकाबाट काठमाडौं ओहोरदोहोर साइकलमै गर्छन्।

एक महीनाअघि माघ ४ गते तारेख खेप्न काठमाण्डौं पुगेका बेला सर्वोच्च अदालत परिसरमा भेटिएका शालिकराम फागुन ४ गतेको पेशीका लागि पनि साइकलबाटै काठमाडौं आएका छन्। “यस पालि चाहिं नवलपरासीको दाउन्नेदेखि बर्दघाटसम्म ट्रक चढेर आएँ,” ६५ वर्षीय शालिकरामले सुनाए, “पहाडको बाटो साइकल चलाउन सकिएन।”

नारायणघाटसम्म साइकलमा आएका उनले फेरि त्यहाँबाट काठमाडौंसम्म गाडी चढेको पनि बताए। “यस पालि अलि गाह्रो भयो,” उनले भने, “थोरै पैसा जम्मा गरेको थिएँ। ५०० रुपैयाँमा काठमाडौं ल्याइदियो।”

मुद्दाका लागि काठमाडौं साइकलमा आएको शालिकरामको यो पाँचौं पटक हो। काठमाडौं आएर उनी पशुपतिनाथ क्षेत्रको धर्मशालामा बस्छन्। अघिल्लो पटक गौशालाको धर्मशालामा बसेका उनी यसपालि पशुपतिको आडमै रहेको अर्को धर्मशालामा छन्। “यहाँ पूजाआजा पनि चलिरहेको छ। खाना यहीं दिन्छन्,” फागुन १ गते धर्मशालामै भेटिएका शालिकरामले भने।

यस पालि भने उनले सामलतुमल ल्याएका छैनन्। “श्रीमती घरमा थिइनन्। सासू बित्नुभएको छ, त्यसैले माइत गएकी थिइन्,” उनले भने, “त्यसैले यस पालि ओढ्ने-ओछ्याउने मात्र ल्याएको छु। बाटोमा फलफूल खाँदै आएँ।”

उनी जग्गा फिर्ताका लागि जिल्ला अदालत, बर्दियामा समेत जग्गा किचलोको छुट्टै मुद्दा लडिरहेका छन्। २०७९ कात्तिक ४ गते दर्ता भएको यस मुद्दा शुरूमा न्यायाधीश टेकराज जोशीको इजलासले मेलमिलापमा पठाउने आदेश दिएको थियो।

तर मेलमिलाप भएन। त्यसपछि घरजग्गाको नापनक्शा गर्ने, विवादित लिखतको प्रमाणित प्रतिलिपि झिकाउने र बकपत्र गराउने लगायत काम सकिए पनि फैसला भएको छैन।

हिमालखबरबाट

  • ४ फाल्गुन २०८०, शुक्रबार १९:०३ प्रकाशित
  • Nabintech