५ जेष्ठ २०८१, शनिबार
सुदूरपश्चिमले जित्यो ‘सुशील कोइराला स्मृती यू-१९ प्रतियोगिता’को उपाधी
  • काँचुली खबर

३ फागुन, कोहलपुर । सुशील कोइराला मेमोरियल अन्डर-१९ राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ।

बाँकेको कोहलपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर-११ लाई २ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।

कोहलपुर क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा कोहलपुर मेयर-११ ले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले ८ विकेट गुमाएर अन्तिम बलमा भेटायो । अन्तिम बलमा १ रन आवश्यक हुँदा हिसिला खड्काले चौका प्रहार गर्दै सुदूरपश्चिमलाई जित दिलाईन् ।

सुदूरपश्चिमको लागि ओपनर मनिषा बोहराले सर्वाधिक ४१ रन योगदान दिईन् । प्लेयर अफ द म्याच घोषित बोहराले ४१ बलमा ५ चौका प्रहार गरिन् । कप्तान स्नेहा महराले १६ रन, निलम पाण्डेले ९ रन, रबिना साउद र अनु कडायतले समान ८ रन तथा हिसिला खड्काले अविजित ६ रन बनाईन् ।

यस अघि टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर-११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनाएका थियो ।

कोहलपुरकालागी कप्तान सना प्रविनले सर्वाधिक ४१ रन योगदान दिईन् । ओपनिंग ब्याटिंग गर्दै अविजित रहँदै प्रविनले ५४ बलमा ३ चौका मद्दतले ४१ रन बनाईन् । रिया शर्माले अविजित १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाईन् ।

सुदूरपश्चिमको बलिंगमा अनु कडायत र स्नेहा महराले २/२ विकेट लिए । अनुले ४ ओभरमा २८ रन तथा स्नेहाले ४ ओभरमा १ मेडन गर्दै ८ रन खर्चिन् ।

उपाधि सहित सुदूरपश्चिम प्रदेशले एक लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कोहलपुर मेयर-११ ले पचास हजार रुपैयाँ पाएको छ ।

प्रतियोगिताकै उत्कृष्ठ खेलाडी कोहलपुर मेयर-११ कि कप्तान सना प्रविन घोषित भईन् । उनले १५ हजार रुपैयाँ हात पारिन् । त्यसैगरी उत्कृष्ठ बलर गण्डकी प्रदेशकी रचना चौधरी तथा उत्कृष्ठ ब्याटर कोहलपुर मेयर-११ कि सना प्रविन घोषित भईन् । उनिहरुले समान ५/५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उदयमान प्रतिभा सुदूरपश्चिम प्रदेशकी सावित्री धामी घोषित भईन् ।

समापन समारोहका प्रमुख अतिथि नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द तथा कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदीले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

६ दिन चलेको प्रतियोगितामा कोहलपुर मेयर-११, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको थियो ।

  • ३ फाल्गुन २०८०, बिहीबार १६:३९ प्रकाशित
  • Nabintech