५ जेष्ठ २०८१, शनिबार
फागुन ५ गतेदेखि नेपालगन्ज-जनकपुर सिधा उडान हुने
  • काँचुली खबर

१ फागुन, नेपालगन्ज । नेपालगन्ज देखि जनकपुरसम्म सिधा उडान सेवा सुरू हुने भएकाे छ । जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगन्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज-जनकपुर सिधा हवाई उडान सुरु हुन थालेको हाे ।

फागुन ५ गते र ७ गते लुम्बिनी प्रदेशको नेपालगन्जबाट मधेश प्रदेशको जनकपुरसम्म यति एअरलाइन्सले सिधा हवाई उडानको सुरुवात गर्न लागेको हो ।

केही दिनपहिले मात्र नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको यस क्षेत्रका पर्यटन व्यवसायीको बैठकले नेपालगन्ज-जनकपुर उडानका लागि हवाई कम्पनीलाई अनुरोध गर्ने निर्णय गरेपछि यति एअरलाइन्सले सो उडान सुरु गर्न थालेको हो ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेश प्रदेशको संयोजनमा यति एयरलाइन्सले चार्टर उडान गर्ने नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

यति एयरलाइन्स नेपालगन्जका प्रमुख दिलिप कार्कीले नाट्टा बाँके च्याप्टरको आग्रहमा धार्मिक पर्यटन विकासका लागि यही फागुन ५ गते शनिबार र ७ गते सोमबार नेपालगन्जदेखि जनकपुरका लागि दुई वटा चार्टर उडान गरिने बताए ।

उनले अहिले यी दुईवटा उडान गरेर यात्रुको अवस्था बुझ्ने काम गरिने जनाउँदै यात्रुको माग र संख्या राम्रो देखियो भने यो उडानलाई नियमित गराउने कार्य गरिने बताए ।

यसअघि केही वर्ष पहिले नेपालगन्ज-पोखरा उडान सुरु गर्नका लागि पनि सुरुमा चार्टर उडान गरिएको थियो । पछि यात्रुको संख्या बढेपछि नियमित उडान सुरु गरिएकोमा अझै पनि बुद्ध एयरले उडान गर्दै आएको पर्यटन पवर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।

  • १ फाल्गुन २०८०, मंगलवार १७:१९ प्रकाशित
  • Nabintech