१७ बैशाख २०८१, सोमबार
जनयुद्ध र जनआन्दोलनका घाईतेकाे लुम्बिनी प्रदेशिक अस्पतालमा नि:शुल्क उपचार
  • काँचुली खबर

२६ माघ, नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका क्रममा घाइते र अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार सुरु गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालसँग सम्झौता गरेर उपचारको काम अघि बढाएको लुम्बिनी प्रदेश गृह मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका घाइते तथा अपाङ्गता भएकाको निःशुल्क उपचारका लागि प्रदेश गृह मन्त्रालयले सम्झौताका लागि लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र राप्ती प्रादेशिक अस्पताललाई पत्र पठाएर बोलाएको थियो । गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीले लुम्बिनी प्रादेशिक अस्पताल मात्र आएको जानकारी दिए । उनले भने, “लुम्बिनी प्रादेशिक अस्पतालसँग सम्झौता भएर काम अगाडि बढेको छ । उपचारका लागि आउन सूचनासमेत प्रकाशन गरिसकेका छौँ ।” अस्पतालसँग सम्झौता भएसँगै उपचार सेवा पनि सुरु भएको शाखा अधिकृत सोनीले जानकारी दिए ।

मन्त्रालयको मापदण्डमा पर्नेले निःशुल्क उपचारको सेवा पाउने छन् । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट उपचारका लागि बुटवल पठाइने शाखा अधिकृत सोनी बताउँछन । उनका अनुसार यसका लागि सशस्त्र द्वन्द्व तथा अन्य विभिन्न आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएकाको उपचारसम्बन्धी कार्यविधि, २०८० तयार गरी उपचारको प्रक्रिया अघि बढाइएको छ । सोनीले भने, “वास्तविक घाइते र अपाङ्गता भएकाले सेवा पाऊन् भनेर कार्यविधि बनाएका छौँ । कार्यविधिभन्दा बाहिरकाले सेवा पाउने छैनन् ।”

उपचारका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४२ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । सरकारले विनियोजन गरेको बजेटबाट चालु आवका लागि उपचारमा आउनेका लागि खर्च गरिने भएको छ । यही रकमबाट उपचार तथा यातायात खर्च प्रदान गरिने छ । शाखा अधिकृत सोनीका अनुसार उपचार र सामान्य अङ्ग प्रत्यारोपणका लागि सहयोग रकम उपलब्ध गराउने छ । जटिल समस्या भएका र रकम धेरै लाग्नेको पहिचान गरेर बजेटको व्यवस्था गर्ने प्रदेश सरकारले जनाएको छ ।

जनयुद्धमा तथा जनआन्दोलनका क्रममा घाइते भएका, आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित भएका घाइते तथा अपाङ्गता भएकाको उपचारका लागि प्रदेश सरकारले कार्यक्रम सुरु गरेको शाखा अधिकृत सोनीले जानकारी दिए ।

  • २६ माघ २०८०, शुक्रबार ०९:२९ प्रकाशित
  • Nabintech