१६ बैशाख २०८१, आईतवार
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको स्रोत सुनिश्चित
  • काँचुली खबर

२३ माघ, काठमाडौं । बागमती प्रदेश सरकारले चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको मंगलबार बसेको बैठकले रंगशाला निर्माणको पहिलो चरणका लागि ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र स्रोत सुनिश्चित गर्ने निर्णय गरेको हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको रंगशाला स्रोतको अभावमा अलपत्र परेको थियो । रंगशाला निर्माणको काम रोकिएपछि सरकारले त्यसको स्वामित्व लिदै आफैले निर्माण गर्ने घोषणा गरेको थियो ।

संघीय सरकारको निर्णयसँगै बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर रंगशालाको बाँकी कामलाई पूर्णता दिने सम्झौता गरेका थिए । रंगशालाको लागत अनुमान गरेर ७० प्रतिशत प्रदेश सरकार र बाँकी ३० प्रतिशत स्थानीय सरकारको रुपमा भरतपुर महानगरले गर्ने समझदारी बनेको थियो ।

सोही समझदारी अनुसार प्रदेश सरकारले मन्त्रीपरिषद्मार्फत सम्झौताको अनुमोदन गर्दै स्रोत सुनिश्चित गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले प्रदेश सरकारको निर्णयसँगै रंगशाला निर्माणको कामले गति लिने बताए । उनले प्रदेश सरकारको निर्णयले क्रिकेट विकासमा महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गरेका छन् ।

  • २३ माघ २०८०, मंगलवार १५:२८ प्रकाशित
  • Nabintech