२४ बैशाख २०८१, सोमबार
नेपालगन्जकाे सडक पेटिमा तरकारी बेच्ने जनप्रतिनिधिकाे कथा
  • काँचुली खबर

२० माघ, नेपालगन्ज । बाँकेमा एक जनप्रतिनिधिले सडक पेटिमै नियमित रूपमा तरकारी बेच्दै आएका छन । बर्दियाकाे बढैयाताल गाउँपालिका-३ का महिला वडा सदस्य दुसानी थारुले दैनिक रूपमा बर्दियाबाट नेपालगन्ज ल्याएर अर्गानिक तरकारी विक्री गर्दै आएकी छन ।

महिला उद्यमी तथा वडा सदस्य दुसानी थारुले यसरी तरकारी बेच्न थालेकाे वर्षौँ भयाे । आफूले उत्पादन गरेका ताजा अर्गानिक तरकारी नेपालगन्जमा ल्याएर बिक्री गर्दै आएको उनले जानकारी दिईन ।

“म पहिलादेखि नै कृषि पेसामा आबद्ध थिएँ, विगत १०-१२ वर्षदेखि हरेक दिन बिहान आफूले उत्पादन गरेका अर्गानिक तरकारी साइकलमा राखेर नेपालगन्ज ल्याएर विक्री गर्छु” दुसानीले भनिन, “गत स्थानीय चुनावमा मलाई महिला सदस्यको टिकट मिल्यो, सबैले उठ्न आग्रह गर्नुभयो, सबै पार्टीका मानिसले मलाई सहयोग गर्नुभयो र मैले चुनाव जितेँ ।”

बिहान व्यापार, दिनभरी जनताकाे काम

आफू जनप्रतिनिधि भए पनि कृषि पेसामा रमाइरहेको भन्दै उनले बिहानभरी नेपालगन्जमा तरकारी विक्री गर्ने र दिउँसो घर पुगेपछि जनताका काममा लाग्ने गरेको बताईन । पहिला साइकलमै राखेर तरकारी बेच्न नेपालगन्जसम्म जाने गरेको र अहिले गाडीमा राखेर ल्याइने गरेको उनले बताईन ।

उनले भनिन, “अहिले गाउँका अन्य महिला किसानहरू हामीसँगै थपिनुभएको छ, बिहान २-३ बजेतिर ४-५ जना साथी मिलेर म्याजिक गाडी रिजर्भ गर्छौँ र गाडीमा तरकारी लिएर बिहानै नेपालगन्जको सडकमा पुग्छौँ ।”

तरकारी नेपालगन्जसम्म ल्याएर धम्बोझीस्थित सिटिजन बैङ्कको अगाडि सडकको किनारामा लगाउने गरेको उनले बताईन ।

नगरप्रहरीले दु:ख दिने गरेकाे गुनासाे

सडकमा तरकारी राखेर बेच्दा बिहान ९ बजेपछि भने नगर प्रहरीले लखेट्ने गरेको उनको गुनासो छ ।

“नेपालगन्जको सडकमा यसरी तरकारी राखेर बेच्न थालेको तीन वर्ष भयो, छुट्टै ठाउँ छैन बिहान ९ बजेपछि नगर प्रहरी आएर बेच्न दिन्न, लखेट्छ” उनले भनिन, “भारतबाट ल्याएर तरकारी बेच्नेहरूका लागि सम्बन्धित सरोकारवालाले विभिन्न स्थानमा निश्चित ठाउँ बनाइदिएको छ, तर हामीले गोबर मलबाट उत्पादन गरेका अर्गानिक तरकारी बेच्ने ठाउँ छैन, हामीलाई पनि निश्चित ठाउँ तोकिदिनुपर्छ ।”

१५ कठ्ठा जग्गामा विभिन्न तरकारीजन्य वस्तुहरू उत्पादन गर्दैआएको थारूले बताईन । नेपालगन्जमा अर्गानिक तरकारी खाने बानी परेका ग्राहक सधैँ आफूलाई कुरेर बस्ने गरेको उनले भनिन ।

“मैले गोबर मल मात्र प्रयोग गरेर ताजा विषादीरहित तरकारी उत्पादन गर्छु, ग्राहकको स्वास्थ्यप्रति म सचेत छु । मेरा ग्राहकले सधैँ मसँग तरकारी किन्नुहुन्छ” उनले भनिन, “स्वदेशमै स्वस्थकर तरकारी उत्पादन तथा विक्री गरेमा हामी सबैको स्वास्थ्य ठिक रहन्छ ।”

‘स्वदेशमै बसेर आम्दानी गर्न सकिन्छ’

तरकारी विक्रीबाटै आफूले पाँच जनाको परिवार पालिरहेको बताउँदै थारूले भनिन, “देशमा केही गर्न सकिन्न भनेर विदेश गएर धेरै नेपाली नागरिकले दुःख पाएका छन्, मैले यहीँ तरकारीबाटै राम्रै आम्दानी गरेकी छु ।

नेपालमा काम गर्न लाज मान्ने संस्कारले पछि परेकाे उनकाे बुझाई छ । तरकारी बेचेरै कमाएको पैसाबाट केही जग्गाजमिन जोडेको र छोरालाई जापानसमेत पठाएको उनले बताईन । “मेरो घरमा कमाई गर्ने म मात्र हो, तरकारीकै आम्दानीबाट केही जग्गाजमिन किनेकी छु, एउटा बैङ्कबाट ५ लाख रुपियाँ ऋण लिएर अरू आफ्नैबाट लगानी गरेर छोरालाई जापान पठाएकी हुँ ।” उनले भनिन ।

सरकारले आफूजस्ता साना किसानका लागि ध्यान दिनुपर्ने उनको भनाइ छ । स्थानीयस्तरमै उत्पादन हुने घरेलु तथा अर्गानिक वस्तुलाई सरकारले प्रवर्द्धन गर्नुपर्ने र विक्री वितरणका लागि अलग्गै स्थान बनाइदिनुपर्ने उनकाे माग छ ।

गाेरखापत्रबाट

  • २० माघ २०८०, शनिबार १८:३० प्रकाशित
  • Nabintech