२३ बैशाख २०८१, आईतवार
न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य
  • काँचुली खबर

७ माघ, काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी न्युजिल्यान्डबाट जितका लागि तीन सय तीन रनको लक्ष्य पाएको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय दुई रन बनाएको हो ।

न्युजिल्यान्डका लागि तेस्रो नम्बरका ब्याट्सम्यान स्नेहिथ रेड्डीले उत्कृष्ट शतकीय पाली खेले । लामो समय क्रिजमा संघर्ष गरेका उनले टोलीका लागि अविजित एक सय ४७ रनको योगदान गरे । उनले एक सय २५ बलको सामना गरी ६ छक्का र ११ चौका पनि हिर्काएका थिए ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका किविज ब्याट्सम्यान ओस्कर ज्याक्सनले पनि अर्धशतकीय पाली खेलेका थिए । टोलीको कप्तानसमेत रहेका ज्याक्सनले ७५ रन बनाए । उनले ८१ बलको सामना गरी पाँच छक्का र तीन चौका पनि हिर्काए ।

न्युजिल्यान्डले ६७ रनको कुल स्कोरमा तीन विकेट गुमाएको थियो । त्यसपछि रेड्डी र ज्याक्सनले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै टोलीको स्कोरलाई दुई सय २४ रनको स्थितिसम्म पु¥याएका थिए । यी दुईबिचको साझेदारी नै न्युजिल्यान्डका लागि महत्त्वपूर्ण बन्यो ।

त्यसअघि न्युजिल्यान्डले पहिलो विकेटका रुपमा ओपनर लुक वाट्सनलाई १४ रनको ब्यक्तिग स्कोरमा गुमाएको थियो । उनलाई नेपाली बलर सुवास भण्डारीले बोल्ड गरेका थिए । त्यतिबेला न्युजिल्यान्डले ५३ रन बनाएको थियो ।

दोस्रो विकेटका रुपमा न्युजिल्यान्डले टम जोन्सलाई ३३ रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो । टमलाई नेपाली टोलीका बलर तिलक भण्डारीले बोल्ड गरेका थिए । दोस्रो विकेट गुमाउँदा न्युजिल्यान्डले ६६ रन बनाएको थियो ।

यसैगरी तेस्रो विकेटका रुपमा ओलिभर टेवाटिया शून्य रनमै पेभेलियन फर्किएका थिए । उनलाई दीपेश कँडेलले विकेटकिपर उत्तम रंगु थापामगरद्वारा क्याच गराएका थिए । त्यतिबेला न्युजिल्यान्डले ६७ रन बनाएको थियो ।

न्युजिल्यान्डले चौथो विकेटका रुपमा कप्तान ज्याक्सनलाई गुमाएको थियो । उनलाई आकाश त्रिपाठीले बोल्ड गरेका थिए । त्यतिबेला न्युजिल्यान्डले दुई सय २४ रन बनाएको थियो । न्युजिल्यान्डको पाँचौँ विकेटका रुपमा लाचलन स्टकपोल शून्य रनमै पेभेलियन फर्किएका थिए । उनको विकेट गुल्सन झाले लिएका हुन् । ४२.२ ओभरमा उनी पेभेलियन फर्किँदा न्युजिल्यान्डले दुई सय २५ रनब नाएको थियो ।

यसैगरी न्युजिल्यान्डले छैटौँ विकेटका रुपमा ज्याक कुमिन्सलाई शून्य रनकै ब्यक्तिगत स्कोरमा गुमाएको थियो । उनलाई पनि गुल्सन झाले विकेटकिपर उत्तम रंगु थापामगरद्वारा क्याच गराएका थिए । ४२.३ ओभरमा उनी आउट हुँदा न्युजिल्यान्डले दुई सय २५ रन बनाएको थियो ।

न्युजिल्यान्डका लागि एलेक्स थम्सनले पनि १३ रनको योगदान गरे । उनी सातौँ विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनलाई सुवास भण्डारीले बोल्ड गरेका थिए । ४७.३ ओभरमा उनी आउट हुँदा न्युजिल्यान्डले दुई सय ७४ रन बनाएको थियो ।

आठौँ विकेटका रुपमा न्युजिल्यान्डले म्याट रोवेलाई गुमाएको थियो । उनी दुई रन बनाउँदै आउट भएका हुन् । उनलाई सुवास भण्डारीले गुल्सन झाद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा न्युजिल्यान्डले दुई सय ९५ रन बनाएको थियो ।

न्युजिल्यान्डले अतिरिक्त रुपमा पनि १७ रन पाएको थियो । नेपाली बलर सुवास भण्डारीले तीन र गुल्सन झाले दुई विकेट लिए । दीपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले पनि एक-एक विकेट लिए । जारी प्रतियोगितामा नेपालले पहिलो खेल खेलिरहेको हो । यू-१९ विश्वकपको यसअघिको संस्करणमा नेपालले दुईपटक न्युजिल्यान्डलाई पराजित गरेको छ ।

  • ७ माघ २०८०, आईतवार १७:५३ प्रकाशित
  • Nabintech