चप्परगौडी-घुईयाबारी सडक निर्माणकालागी दवाव दिन समन्वय र सहकार्य समिति गठन
  • काँचुली खबर

२२ मंसिर, कोहलपुर । चप्परगौडीबाट खड्कवार हुँदै सल्यानको घुईयाबारी जोड्ने अन्तरप्रदेश मार्ग निर्माणमा बाँके राष्ट्रिय निकुञ्जसंग समन्वय र सहकार्यका लागि समिति गठन भएको छ ।

बिहिबार चप्परगौंडीमा भएको भेलाबाट वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको छ ।

जसमा नेकपा एमालेका क्षेत्रिय संयोजक बलराम भट्टराई, वडा नं. १३ का डम्बर खड्का, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष निरक बहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका कोहलपुरका सल्लाहाकार चक्र बहादुर केसी, नेकपा एमालेका वडा अध्यक्ष रुपसिंह डाँगी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि मेन बहादुर देवकोटा, कोहलपुर मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष ओम प्रकाश वली, नेकपा एसकी जिल्ला कमिटि सचिवालाय सदस्य नारायणी वली, नेपाली काँग्रेस १२ का वडा सभापति केश कुमारी वली र राजमोका वडा अध्यक्ष रुद्रनाथ आचार्य रहेका छन् ।

सडक निर्माणमा निकुञ्जले अबरोध गरेको निष्कर्ष

बाँकेको चप्परगौडीबाट खड्कवार-घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश मार्ग निर्माणमा बाँके राष्ट्रिय निकुञ्जले अवरोध गरेको स्थानियले बताएका छन । बिहिबार कोहलपुर नगरपालिकाको १२ र १३ वडाले संयुक्त रुपमा आयोजना गरेको भेलामा बोल्ने अधिकांश व्यक्तिहरुले निकुञ्जले अवरोध गरेको भन्दै विरोध जनाएका थिए ।

चप्परगौडीदेखि खड्कवार थारुगाउँसम्म ४ खण्डमा विभाजन गरी बाटोको टेन्डर सम्झौता भएको छ । ४ वटा निर्माण कम्पनीले चप्परगौडीदेखि खड्कवार थारु गाउँसम्म सडक निर्माण गर्न ८ करोड ५० लाखमा सम्झौता भएको कोहलपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले जानकारी दिए ।

उनले कोहलपुर नगरपालिका वडा नं १२ र १३ लगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सबल बनाउन कोहलपुर-चपरगौडी-खडकवार-घुइयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश मार्ग बनाउन जरुरी रहेको बताए ।

यस्तै कोहलपुुर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्काले ‘सेक्टर वन कार्यालयले अनुमति नलिई काम गरेको भन्दै अवरोध गर्छ तर निकुञ्जले भने अनुमति दिँदैन’ भन्दै आक्रोश पोखेका थिए ।

‘एउटाले अनुमति माग्छ भने अर्कोले अनुमति दिँदैन’ आक्रोशित हुँदै खड्काले भने, ‘८ करोडको बजेट फ्रिज हुनुभन्दा सडकदेखि संसदसम्म आवाज उठाउनुपर्ने देखियो ।’

‘यो सडक निर्माणले बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर उठाउन कोशेढुंगा सावित गर्छ’, खड्काले भने, ‘त्यसका लागि बाँकेबासीले यो सडक निमार्णमा भएको अवरोधलाई हटाउन आवाज उठाउन पर्ने बेला आएको छ ।’

लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरी र सञ्जु कुमारी चौधरीले टेण्डर भएको स्थानसम्म काम गर्न अनुरोध गरे । टेन्डर भएको सडकखण्डमा निकुञ्जले अवरोध गरेको भए त्यो गलत भएको उनीहरुले बताए ।

टेण्डर पक्रियाबाट छनौट भएका निर्माण व्यवसायीहरुलाई विभिन्न बहानामा काममा अवरोध ल्याउने काम भएको भए सरासर गलत भएको उनीहरुको निष्कर्ष थियो ।

  • २२ मंसिर २०८०, शुक्रबार १३:११ प्रकाशित
  • Nabintech