बलात्कारपछि बालिका हत्या आरोपमा शिक्षक कारागार चलान
  • काँचुली खबर

१२ मंसिर, कोहलपुर । १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिकाका २३ वर्षीय रहिस खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

१७ कात्तिकमा बालिका घर नजिकैको हुँग्दीखोलामा नग्न र डुवेको अवस्थामा फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नविन किशोर प्रधानसहितको प्रहरीको टोली तत्काल घटनास्थल पुगेर घटनाको अनुसन्धान गरेर खाँलाई नियन्त्रणमा लिएको थियो । खाँ मदरसा गुल्सने मदिनाका शिक्षक थिए ।

मृतक बालिका गुल्मीको चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरको श्रीलंका टोलमा आमासँग भाडाको घरमा बस्दै आएकी थिइन् । बालिका १६ कात्तिकबाट परिवारको सम्पर्कमा थिइनन् । आमासँग घर नजिकैको खेतमा काम गर्न गएकी उनी १६ कात्तिकको बिहान ११ बजे खेतलालाई सुर्ति किन्न बजार गएपछि फर्किनन् ।

गुल्मी प्रहरीले घटनामा संलग्न भएको आरोपमा खाँलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि गुल्मी अदालत पेश गरेको थियो । जिल्ला अदालत गुल्मीले सोमबार खाँलाई पुर्पक्षको लागि जिल्ला कारागार गुल्मी चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

कारागार चलान भएका खाँ पाँच महिनादेखि शिक्षण पेसाका लागि चन्द्रकोटको शान्तिपुरमा बस्दै आएको प्रहरीले जनाएको छ ।

  • १२ मंसिर २०८०, मंगलवार १३:३५ प्रकाशित
  • Nabintech